काठमाडौं । बंगलादेशमा मैत्रीपूर्ण सिरिजको उपाधि जितेको राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्किएको छ । सोमबार मध्यान्ह स्वेदश फर्किएको राष्ट्रिय महिला फुटबल टिमलाई त्रिभुवन विमानस्थलमा अखिल नेपाल फुटबल संघ एन्फा पदाधिकारीहरुले स्वागत गरेका थिए । बंगलादेशमा दुई मैत्रीपूर्ण म्याचको सिरिज खेलेर नेपाली टिम घर फर्किएको हो ।
दुवै खेलमा बराबरी खेलेको नेपालले टाईब्रेकरमा घरेलु टोली बंगलादेशलाई पराजित गर्दै फिफा मान्यताको मैत्रीपूर्ण सिरिज हात पारेको थियो । स्वदेश फर्किएपछि राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक अनन्त थापाले बंगलादेशको होम ग्राउण्डमा पराजित गर्नु उपलव्धी भएको र यसले खेलाडीहरुको मनोवल बढेको बताए । उनले मैत्रीपूर्ण सिरिजमा नेपाली खेलाडीहरुको कमी कमजोरी अध्ययन गर्ने मौका पाएकाले आगामी प्रतियोगिताका थप सुधारका साथ खेल्ने बताए ।
त्यस्तै राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले पहिलेको तुलनामा अहिलेको प्रदर्शन कमजोर नै देखिएको बताईन् । उनले सिरिजको उपाधि जित्नु खुसीको कुरा भएपनि आगामी दिनमा थप मजबुद हुनुपर्ने धारणा राखिन् ।
त्यस्तै राष्ट्रिय महिला फुटबल टिमकी सदस्य सावित्री भण्डारीले यसअघि भएका गल्तीलाई सुधार गर्दै बंगलादेशसंग खेलेको बताईन् । उनले अगामी खेलमा थप सुधारका साथ अघि बढ्नुपर्नेमा जोड दिईन् ।