काठमाडौं । आर्थिक बर्ष २०७९/८० मा काठमाडौंमा अपराधका घटनाहरु बढेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गर्दै आर्थिक बर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा काठमाडौंमा अपराधका घटनाहरु बढेको जनाएको हो ।
२०७८/७९ मा ८ हजार ९ सय ७७ मुद्दा दर्ता भएकोमा आर्थिक बर्ष २०७९/८० मा मुद्दा दर्ताको संख्या १३ हजार ४ सय ६४ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिए ।
परिसरका अनुसार सवै भन्दा बढि बैंकिङ कसुर सम्बन्धी ७ हजार १ सय १ मुद्धा दर्ता भएका छन् भने अभद्र व्यवहारका २ हजार ८ सय ९४ मुद्दा दर्ता भएकोे कार्कीले जानकारी दिए । त्यस्तै आर्थिक बर्ष २०७९/८० मा प्राप्त २ हजार १ सय ६२ उजुरी मध्ये ६ सय ४१ को मात्रै फर्छौट भएको छ । कार्कीले अनलाईन प्रविधिबाट देखा परेका आर्थिक अपराधहरु पनि पछिल्लो समय बढ्दै गएको बताए ।
उनले काठमाडौं जिल्लामा देखिएका अपराधका चुनौतीहरुलाई सामना गर्न दक्ष र प्रविधियुक्त जनशक्ति विस्तार गरी अनुसन्धानलाई प्रभावकारी बनाउने बताए । कार्कीले नाकामा प्रवधियुक्त प्रणाली जडान गरि अपराध नियन्त्रणतर्फ ध्यान दिने धारणा राखे ।
त्यस्तै साइबर अपराध र अनलाइन ठगीका घटनाहरु नियन्त्रण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत लक्षित वर्गमा जनचेतना प्रदान गरिने, प्रभावकारी तवरले प्रहरी परिचालन गरिने बताए ।