काठमाडौँ । अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा दशरथ चन्द एकेडेमी बैतडीले पहिलो जीत हात पारेको छ । बैतडीले क्रिकेट एक्सेलेन्स सेन्टर काठमाडौँलाई १६ रनले हरायो ।
बैतडीले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको काठमाडौँ १९ ओभर ४ बलमा १ सय ४४ रनमा अलआउट भयो । काठमाडौँका राज शाहले नटआउट ३७, दीपेन्द्र रावतले ३२ रन बनाए । बैतडीका सलाहुद्दीन खानले ५, दिवान पुनले ३ विकेट लिए ।
यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बैतडीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन बनायो । बैतडीका दिवान पुनले ४३, वसन्त खत्रीले ३२, अमर रौटेलाले नटआउट २९ रन बनाए ।
काठमाडौँका दीपेन्द्र रावत र सूर्य तामाङले २र२ विकेट लिए । यो जीतसँगै बैतडी ३ खेलमा २ अङ्कसहित समूह ‘बी’ को तेस्रो स्थानमा छ । काठमाडौँ उति नै खेलमा २ अङ्कसहित पुछारमा छ । भोलि लिग चरणको अन्तिम खेलपछि समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ ।
प्रतियोगितामा अहिले समूह ‘ए’ का फ्रेन्ड्स युथ क्लब डडेल्धुरा र घोडाघोडी–११ सुख्खड खेलिरहेका छन् । समूह ‘ए’ बाट डडेल्धुरा र डीसीए धनगढी सेमिफाइनलमा पुगिसकेका छन् । अर्जुन ट्रफी क्रिकेटमा देशभरका ८ वटा क्लब सहभागी छन् ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता आउँदो सोमबार माघ २८ गतेसम्म चल्नेछ ।