लेबनान । राष्ट्रपति निर्वाचन अवरूद्ध भएपछि कामचलाउ सरकारले सङ्कटग्रस्त देशको नेतृत्व गरेको दुई वर्षभन्दा बढी समयपछि लेबनानले नयाँ सरकार गठन गरेको छ ।
राष्ट्रपति जोसेफ औनले ‘२४ जना मन्त्रीको सरकार गठन गर्ने’ आदेशमा हस्ताक्षर गरेका छन् । “राष्ट्रपतिले औनले ‘कामचलाउ प्रधानमन्त्री नजिब मिकातीको सरकारको राजीनामा स्वीकृत गर्नुभएको छ’ र ‘प्रधानमन्त्री नवाफ सलामलाई सरकार गठनका लागि औपचारिक रूपमा जिम्मेवारी तोक्नुभएको छ,” विज्ञप्तिमा भनिएको छ ।
दुई वर्षभन्दा लामो राजनीतिक गतिरोधपछि इजरायलसँगको युद्धमा सशस्त्र समूह हिजबुल्लाह कमजोर भएपछि पूर्व सेना प्रमुख औन राष्ट्रपति निर्वाचित भएका छन् भने सलाम प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
नयाँ सरकारले वर्षौंको आर्थिक सङ्कटपछि अन्तर्राष्ट्रिय दातृ निकायहरूबाट अर्बौं डलर प्राप्त गर्न आवश्यक सुधारहरू कार्यान्वयन गर्ने, इजरायल–हिजबुल्लाहको कमजोर युद्धविरामको निरीक्षण गर्ने र युद्धग्रस्त देशको पुनर्निर्माण गर्ने चुनौतीपूर्ण कार्यको सामना गरिरहेको छ ।
उसले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग भएका सम्झौताको पुनरावलोकन गर्नुपर्ने छ र अर्को वर्ष हुने संसदीय निर्वाचनको तयारी पनि गर्नुपर्नेछ । - रासस