बुटवल । बुटवलमा प्रधान कार्यालय रहेको नेपालको एकमात्र राष्ट्रिय बैंक शाइन रेसुंगा डेभलपमेन्ट बैंकको आफ्नो १७ औं वार्षिकउत्सवको अवसरमा एथलेटिक्समा लोकप्रिय खेलको आयोजनामा आगामी फागुन ११ गते १० किलोमिटर दुरीको राष्ट्रिय स्तरको दौड प्रतियोगिता हुन लागेको छ ।
‘रन टु शाइन’ भन्ने नाराका साथ बुटवलमा राष्ट्रिय टेन के रन प्रतियोगिता शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आफ्नो १७ औं वार्षिकउत्सवको अवसरमा एथलेटिक्समा लोकप्रिय मानिने दौड आयोजना गरेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले पछिल्लो समय व्यस्त जिवनशैलीको कारण मानिसहरुको स्वास्थ्य विग्रन थालेको भन्दै बिहान उठेपछि दौडनुपर्छ भन्ने संस्कार विकास गर्न उक्त दौड प्रतियोगिता आयोजना गरिएको बताए। राष्ट्रिय स्तरका धावकसमेत सहभागी रहने १० किलोमिटर दौड प्रतियोगितामा प्रथम हुने धावकले नगद १ लाख पुरस्कार प्राप्त गर्ने छन्। त्यस्तै दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार, चौथो हुनेले १५ हजार र पांचौ हुनेले १० हजार पुरस्कार प्राप्त गर्ने छन्।
कम्पनीका सचिव समेत रहेका पौडेलले प्रतियोगितामा उत्कृष्ट हुने महिला र पुरुषलाई अलग अलग समान राशीको पुरस्कार प्रदान गरिने बताए। त्यस्तै स्थानीय धावकहरुलाई आकर्षित गर्न ५ किलोमिटर दौडमा ५० वर्षसम्म र ५० वर्ष भन्दा माथीको गरी दुई विधामा प्रतियोगिता राखिएको बताए । यी दुई विधामा प्रथम हुनेले १५ हजार, दोश्रो हुनेले १० हजार, तेश्रो हुनेले ५ हजार र चौथो हुनेले २ हजार ५ सय रुपैयां प्राप्त गर्ने छन्। यी दुई विधामा पनि महिला र पुरुष धावकलाई समान राशीको अलग अलग पुरस्कार प्रदान गरिने जानकारी दिए ।
दौड बुटवल कालिकाचोकमा रहेको बैंकको प्रधान कार्यालयबाट सुरु भएको मणिग्राम चोक पुगि पुनः केन्द्रीय कार्यालयमा पुगेर समापन हुने छ । यस प्रतियोगितामा करिब २ हजार जना धावक सहभागी हुनेछन् ।
बुटवलमा प्रधान कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको अध्यक्षमा पुनः थानेश्वर पौडेल निर्वाचित भएका छन् । बैंकको शुक्रबार सम्पन्न १६ औं वार्षिक साधारणसभाले संस्थापक सेयरधनीबाट थानेश्वर पौडेल, इन्जिनियर सुरज उप्रेती, व्यवसायी वीरेन्द्र भुसाल तथा सर्वसाधारण सेयरधनीबाट वीरेन्द्र विष्ट, नम्रता भण्डारी र डा. हिमाल भट्टराईलाई सञ्चालकमा निर्वाचित गरेको हो । स्वतन्त्र सञ्चालकमा प्राध्यापक गोपाल पाण्डे यसअघि नै निर्वाचित भएका थिए ।
सभापश्चात् बसेको सञ्चालक समितिको बैठकले बैंकको अध्यक्षमा पुनः थानेश्वर पौडेललाई निर्वाचित गरेको छ । बैंकको सञ्चालक समितिमा डा. हिमाल भट्टराई र वीरेन्द्र भुसाल नयाँ थपिएको र अरू पुरानै भएको पौडेलले बताए ।
मणिग्राममा सम्पन्न साधारणसभाले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) र ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । ८ अर्ब अधिकृत पुँजी तथा जारी र चुक्ता पुँजी समान ४ अर्ब ७३ करोड ३६ लाख रहेकामा बोनस सेयर वितरणपश्चात् चुक्ता पुँजी ४ अर्ब ८७ करोड पुग्ने छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलका अनुसार बैंकले अहिलेसम्म ८८ वटा शाखा, एक एक्सटेन्सन काउन्टर, १६ एटीएम मेसिनबाट सेवा प्रवाह गरिरहेको छ । ७ लाख ५ हजार ५८ जना बचतकर्ता रहेको बैंकले १७ हजार १ सय ३५ जनालाई विभिन्न प्रकृतिका कर्जा प्रवाह गरेको छ । बैंकमा ७ सय ३८ जना कर्मचारी रहेका छन् ।