बाग्लुङ । बाग्लुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने अभियान थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति लिएको हो ।
नगरपालिकाले कुकुर दर्तासँगै रेबिज विरुद्धको खोप प्रदान गर्ने, छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने, घरपालुवा कुकुरको तथ्याङ्क सङ्कलन गर्ने, दर्ता गर्ने र निःशुल्क औषधि उपचार तथा परामर्श दिन थालेको हो । नगरभित्र रहेका छाडा कुकुरको व्यवस्थापन गर्न पालिकाले ‘घरपालुवा तथा सामुदायिक कुकुर व्यवस्थापन कार्यविधि–२०७९’ बनाएर कार्यान्वयनमा ल्याएको छ । कार्यविधि अनुसार घरपालुवा कुकुरको दर्ता गरी रेबिज विरुद्ध खोपको व्यवस्थापन गर्ने, छाडा कुकुर पाल्नका लागि कुकुर होस्टेल निर्माण गर्ने तथा मृत्यु भएका कुकुरको शव व्यवस्थापन गर्ने उल्लेख छ ।
कार्याविधि कार्यान्वयनअन्तर्गत कुकुर दर्ता गरी खोप कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा कुकुर होस्टेल स्थापना गरिने नगरपालिकाका पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले चालु आर्थिक वर्षमा छाडा कुकुर नियन्त्रण तथा होस्टेल निर्माणका लागि रू १५ लाख विनियोजन गरेको छ ।
नगरपालिकाले आर्थिक वर्षको पहिलो दिनबाटै कुकुर व्यवस्थापनका लागि घरपालुवा कुकुरको दर्ता गर्न थालेको प्रमुख सापकोटाले बताउनुभयो । घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँका अनुसार घरपालुवा कुकुरको दर्तासँगै भिटामिन, रेबिज र अन्य रोगको खोप प्रदान गर्न थालिएको छ भने घरधनीलाई कुकुर दर्ता प्रमाणपत्र प्रदान गर्न थालिएको छ । पशु सेवा शाखा प्रमुख सापकोटाका अनुसार कुकुर दर्ताका लागि रू दुई सय तिर्नुपर्नेछ भने नवीकरणका लागि रू एक सय तिर्नुपर्नेछ । नगरपालिकाले दर्ता भएका कुकुरलाई एक वर्षमा रू एक हजारभन्दा बढी सेवासुविधा दिने उहाँले बताउनुभयो ।
सापकोटाका अनुसार घरपालुवा कुकुर स्वास्थ्यका कारण छाडा कुकुर हुन सक्ने सम्भावना रहेकाले पहिचानका लागि दर्ता गर्न थालिएको हो । नगरपालिकाले कुकुरको घाँटीमा बाँधेको पेटीमा गरिएको सङ्केतका आधारमा कुकुर धनी पत्ता लगाइने उहाँको भनाइ थियो । जिल्ला सदरमुकाम बागलुङ बजारमा छाडा कुकुरको समस्या बढेको भन्दै छाडा कुकुरलाई नियन्त्रणमा लिई कुकुर होस्टेलमा राखेर पालन पोषण तथा उपचार गर्ने नीति नगरपालिकाको रहेको छ ।
नगरभित्र छाडा कुकुरका कारण दुर्घटना बढ्नुका साथै छाडा कुकुरले टोक्दा रोग फैलिएको घटना बढ्दै गएकाले छाडा कुकुरलाई नियन्त्रण गरी होस्टेलमा राख्ने, हेरचाह गर्ने र कुकुर पाल्न चाहनेले अनिवार्य दर्ता गरी पाल्न पाउने नीति नगरपालिकाले लिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाले साउन १ गतेदेखि कुकुर दर्ता गर्न थालिएको बताउँदै पहिलो दिन १२ वटा कुकुर दर्ता गरिएको बागलुङ नगरपालिकाको पशु सेवा शाखाले जानकारी दिएको छ ।