गुल्मी । स्थानीयतह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए)मा गुल्मीका कालीगण्डकी र धुर्कोट गाउँपालिकाले समान अंक प्राप्त गरेर उत्कृस्ट भएका छन।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानिय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि अनुसार यस जिल्लाका दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तहमध्ये दुई पालिकाले बराबर अङ्क ल्याएको सार्वजनिक नतिजामा उल्लेख गरिएको छ।
स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय वित्त व्यवस्थापनका सम्भावित जोखिमका क्षेत्रहरूको पहिचान गरी यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्नका लागि स्थानीय वित्तीय सुशासन जोखिम मूल्याङ्कन हुने मन्त्रालयले जनाएको छ।
आर्थिक वर्ष २०८०/०८१ को स्थानीयतह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा सार्वजनिक भएको हालसम्मको नतिजा अनुसार कालीगण्डकी र धुर्कोट गाउँपालिकाले समान ९९ प्रतिशत अङ्क ल्याएका छन।
कालीगण्डकी र धुर्कोट गाउँपालिकाले योजना,बजेट तथा कार्यक्रम व्यवस्थापनमा २१,कार्यक्रम कार्यन्वयन क्षमता तथा व्यवस्थापनमा २९,लेखाङ्कन तथा प्रतिवेदनमा १७,अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा १६ र राजस्व व्यवस्थापनमा १६ अङ्क ल्याएका प्राप्त गरेका छन।
दोस्रोमा रुरुक्षेत्र गाउँपालिकाले ९८ दशमलव पाँच प्रतिशत अङ्क ल्याएको छ। यस गाउँपालिकाले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा २१, कार्यक्रम कार्यन्वयन क्षमता तथा व्यवस्थापन २८ दशमलव पाँच,लेखाङ्कन तथा प्रतिवेदनमा १७, अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा १६ र राजस्व व्यवस्थापनमा १६ अङ्क प्राप्त गरेको छ।
९८ प्रतिशत अङ्क ल्याएर मदाने गाउँपालिका तेस्रो भएको छ। यस गाउँपालिकाले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा २१, कार्यान्वयन क्षमता तथा व्यवस्थापन २९, लेखाङ्कन तथा प्रतिवेदनमा १७, अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा १६ र राजस्व व्यवस्थापनमा १५ अङ्क ल्याएको हो।
मूल्यांकनबाट चन्द्रकोट गाउँपालिकाले ९७ दशमलव पाँच प्रतिशत,मालिका गाउँपालिकाले ९६ दशमलव पाँच प्रतिशत,छत्रकोट गाउँपालिकाले ९६ प्रतिशत अङ्क ल्याएको प्राप्त गरेका छन। रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले ९१ दशमलव पाँच प्रतिशत अङ्क समान अंक प्राप्त गरेका छन।
रेसुङ्गा नगरपालिकाले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा १९,कार्यान्वयन क्षमता तथा व्यवस्थापन २७,लेखाङ्कन तथा प्रतिवेदनमा १५,अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा १५ र राजस्व व्यवस्थापनमा १५ दशमलव पाँच अङ्क ल्याएको छ भने गुल्मीदरबार गाउँपालिकाले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा २१,कार्यान्वयन क्षमता तथा व्यवस्थापन २८,लेखाङ्कन तथा प्रतिवेदनमा १५, अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा १३ र राजस्व व्यवस्थापनमा १४ दशमलव पाँच अङ्क ल्याएको सार्वजनिक नतिजामा उल्लेख छ।
मुसिकोट नगरपालिकाले ८९ दशमलव पाँच प्रतिशत,सत्यवती गाउँपालिकाले ८९ प्रतिशत,इस्मा गाउँपालिकाले ८८ प्रतिशत अङ्क ल्याएका छन। योजना बजेट तथा कार्यक्रम व्यवस्थापन,कार्यन्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन,अनुगमन मूल्याङ्कन तथा लेखापरिक्षण र राजस्व व्यवस्थापन गरी पाँच वटा विषय क्षेत्रका ११८ वटा सूचकहरूमा १०० पूर्णाङ्कमा स्थानीय तहको मूल्याङ्कन गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि तयार गरि आर्थिक वर्ष २०७७र०७८ देखि स्थानीय तहको मूल्याङ्कन गरिएको हो।
कार्यविधिको दफा ७ बमोजिम स्थानीय तहले पुस मसान्तसम्म मूल्याङ्कन गर्नुपर्ने व्यवस्था रहेको छ। स्थानीय तहले स्वमूल्याङ्कन गरेर जिल्ला समन्वय समितिमा पठाउने र प्राप्त पृष्ठपोषणको आधारमा जिल्ला समन्वय समितिबाट अन्तिम नतिजा प्रकाशन गर्ने व्यवस्था भएबमोजिम यस वर्ष पुस मसान्तसम्म सिस्टममा समस्या आएकोले मन्त्रालयले माघ मसान्तसम्म मूल्याङ्कन गर्ने समयावधि थप गरेको थियो।