गुल्मी । गुल्मीको मदाने गाउँपालिकाले आयोजना गरेको पालिका स्तरीय तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ मदाने गाउँपालिकाले हात पारेको छ।
तिन दिनसम्म संचालन भएको तेस्रो अध्यक्ष कप प्रतियोगिताको फाइनल खेलमा आयोजक समुह मदाने गाउँपालिकाले मुसिकोट नगरपालिकालाई ३–२ को सेटमा हराएको थियो।
प्रथम हुँदै मदाने गाउँपालिकाले एक लाख ११ हजार १ सय ११ रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
दोस्रो अध्यक्ष कपको उपाधि जितेको मुसिकोट नगरपालिकाले यस पटक द्वितीय हुँदै ५५ हजार ५ सय ५५ रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
यसैगरि प्रतियोगितामा तृतीय भएको इस्मा गाउँपालिकाले २५ हजार ५ सय ५५ रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
मदाने गाउँपालिकाको आयोजनामा सम्पन्न वडास्तरीय महिला भलिबल प्रतियोगितामा वडा नम्बर–३,सिर्सेनीले वडा नम्बर–५,मलागिरीलाई २–० सेटले हराउदै प्रथम भएको छ।
वडा स्तरीय महिला भलिबल प्रतियोगितामा प्रथम भएको सिर्सेनीले ३३ हजार ३ सय ३३ रुपियाँ नगदसहित कप,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
द्वितीय भएको मलागिरीले २२ हजार २ सय २२ रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यसैगरी प्रतियोगितामा तृतीय भएको वडा नम्बर–६, पुर्कोट दहले वडा नम्बर –७ भनभनेलाई २–० सेटले हराएको थियो।
तृतीय भएको पुर्कोटदहले ११ हजार १ सय ११ रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगिताबाट उत्कृष्ट खेलाडीका रूपमा अन्तर स्थानीय तहस्तरीय पुरुष भलिबल प्रतियोगितामा मदानेका जीवन विक र वडास्तरीय महिला भलिबल प्रतियोगितामा सिर्सेनीका अनिशा घर्तीलाई नगदसहित ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका खिमबहादुर कुँवरले जानकारी दिनुभयो।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र उत्कृष्ट खेलाडीलाई लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवर, उपाध्यक्ष सरिता खड्का, वडाध्यक्षसहित जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारीलगायतले पुरस्कार प्रदान गर्नुभयो।
मदाने गाउँपालिका वडा नम्बर–७, भनभनेस्थित कुडापानी खेलमैदानमा फागुन ७ गते प्रजातन्त्र दिवसको दिनदेखि सुरु भएको तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता अन्तर्गत अन्तर स्थानीय तहस्तरीय पुरुष भलिबल प्रतियोगितामा विभिन्न सात पालिका र वडास्तरीय महिला भलिबल प्रतियोगितामा मदाने गाउँपालिका अन्तर्गत वडास्तरीय महिला भलिबल प्रतियोगितामा सात वटै वडाले सहभागिता जनाएका थिए।