बुटवल । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा आयोजित १० मिलोमिटर राष्ट्रिय दौड प्रतियोगिता उत्सवका रुपमा सम्पन्न भएको छ ।
तीन विधामा १६ सय जनाले नाम दर्ता गराएकामा ६ सयजनाले प्रतिस्पर्धा गरेका थिए । बैंकको प्रधान कार्यालय कालिकानगरमा ब्याण्डबाजाको संगीत सहित उद्घाटन भएको प्रतियोगितामा निकै उत्साहजनक सहभागीता थियो ।
‘रन टु शाइन’ नाराका साथ बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा १० किलोमिटर दौडमा सर्वाधिक पुरस्कार राशी सहित बैंकले यो प्रतियोगिता गरेको हो । प्रतियोगिताको खुल्लातर्फको उपाधि पुरुषतर्फ मिङमार सिङगी तामाङ र महिलातर्फ सन्तोषी श्रेष्ठले जितेका छन् । ‘रन टु शाइन’ नाराका साथ शाइन रेसुङ्गा डेभलोपमेन्ट बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा बुटवलमा सम्पन्न प्रतियोगितामा च्याम्पियन बन्दै दुवै खेलाडीले नगद एक– एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
बुटवलमा सम्पन्न प्रतियोगितामा च्याम्पियन बन्दै दुवै खेलाडीले नगद एक– एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । सन्तोषीले निर्धारित दुरी ३६ दशमलव २१ सेकेन्डमा पुरा गरिन् भने मिङमारले ३१ मिनेट ५३ सेकेण्डमा पूरा गरेका थिए । पूर्णराज्य लक्ष्मी न्यौपाने दोस्रो, पुष्पा भण्डारी तेस्रो, आशा रावल चौथों र नारायणी भण्डारी पाँचौं बनिन् ।
पुरुषतर्फ नागेश्वर ऐर दोस्रो, गणेशसिंह रावत तेस्रो, सन्जीव नेपाली चौथों र अक्कल बडुवाल पाँचौं भए । दुवै विधाका दोस्रोले ४० हजार, तेस्रोले २० हजार, चौथोंले १५ हजार र पाँचौं हुनेले १० हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै, स्थानीय पाँच किलोमिटर दौडमा शिव रायमाझी र पुजा पछाई विजेता बनेका छन् ।
पुरुषमा अजय पाण्डे दोस्रो, मुकेश थारु तेस्रो र प्रेमलाल कोहार चौथों बने । महिलातर्फ तेजमाया कुँवर दोस्रो, प्रकृति घिमिरे तेस्रो र प्रतिभा केवर चौथौं बने । यस्तै भेट्रान्समा महिलातर्फ मनकुमारी रायमाझी पहिलो र गोमा सुबेदी दोस्रो बनेका छन् । पुरुषतर्फ युव बहादुर राना प्रथम, गोबिन्द थापा दोस्रो, केशर सिंह महत तेस्रो र टेकबहादुर बुढाथोकी चौथों भएका छन् । दुवै विधाका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोंले २ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन् ।
बुटवल कालिकानगरस्थित बैंकको केन्द्रिय कार्यालयबाट सुरु भएको दौड मणिग्राम चोक पुगेर केन्द्रिय कार्यालयमा आएर समापन भएको थियो ।
प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स एसोसियसनले स्वीकृति प्रदान गरेका थिए । विजयी धावकहरुलाई प्रतियोगिताका सद्भावना दुत अन्तर्राष्ट्रिय ओलम्पिक विजेता धावक बैकुण्ठ मानन्धर, प्रदेश सांसद एवं पुर्व मन्त्री विष्णु पन्थी, बैंकका अध्यक्ष थानेश्वर पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले पुरस्कार वितरण गरेका छन् ।