गुल्मी । गुल्मी जिल्लाको रेसुंगा नगरपालिका-६ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आइतबार राति जिल्लाको रेसुङ्गा नगरपालिका–६,सिमाघाट लप्सीमा लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दाङ गढवा गाउँपालिका–३ गोबडिया निवासी सब-इन्जिनियर २७ वर्षीय निशान चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी डीएसपी गंगाबहादुर सारुले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक सारुका अनुसार चौधरीले चलाएको लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई धुर्कोट-तम्घास सडक खण्ड अन्तर्गत सिमाहा घाट छेउको नालीमा खसेको थियो ।
एक्लै सवार गरेका सब-इन्जिनियर २७ वर्षीय चौधरी मोटसाइकलले नालीमा खसेपछि मोटरसाइकलले च्यापेको अवस्थामा फेला परेका थिए । मृतक चौधरी हाल गुल्मीमा इन्द्र एम.के जे.बी निर्माण सेवामा सब-इञ्जिनियरको रूपमा कार्यरत रहेको जनाइएको छ ।
सिमाघाटबाट तम्घासतर्फ आउँदै गरेको मोटरसाइकल राति करिब १०:३० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि गुल्मी अस्पताल ल्याउने तयारी भइरहेको र मृतकका परिवारलाई जानकारी गराइएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।