गुल्मी । लोकतान्त्रिक निर्माण व्यवसायी संघ गुल्मीको अध्यक्षमा गगन केसी निर्वाचित भएका छन ।
नेपाली काँग्रेसको जिल्ला पार्टी कार्यालय बीपी स्मृति भवन तम्घासमा भएको प्रथम जिल्ला अधिवेशनले केसीको अध्यक्षतामा १८ सदस्यीय जिल्ला कार्य समिती सर्वसम्मत रूपमा निर्वाचित गरेको निर्वाचन अधिकृत अधिवक्ता भिमलाल न्यौपानेले जानकारी दिए ।
उनका अनुसार उपाध्यक्षमा जमुना न्यौपाने, उपाध्यक्ष सन्जय पन्थी, महासचिवमा प्रकाश बुढाथोकी, उपमहासचिवमा पुष्पा पन्थी, उपमहासचिव कमलपोख्रेल, कोषाध्यक्षमा खुम खत्री, सहकोषाध्यक्षमा खडानन्द पाण्डे निर्वाचित भएका छन ।
यस्तै सदस्यहरुमा भोजराज श्रेष्ठ, नारायण जिसी, सुरेश श्रेष्ठ, विजय पन्थी, श्याम श्रेष्ठ, महेन्द्र बगाले, दिपक पाण्डे, विजय श्रेष्ठ, बाबुराम ज्ञवाली र विजय पुन निर्वाचित भएका न्यौपानेले जानकारी दिए ।
अधिवेशनको मातृ पार्टी नेपाली काँग्रेस गुल्मीका सभापति तथा रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले उद्घाटन गरेका हुन । त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथि पन्थीले केही निर्माण व्यवसायीका कारण सम्पूर्ण निर्माण व्यवसायीहरु बदनाम हुनु परेको बताए ।
अहिले सबैभन्दा धेरै जनप्रतिनिधि र निर्माण व्यवसायी आलोचित हुनु परिरहेको भन्दै समयमै गुणस्तरीय काम गरि उदाहरण प्रस्तुत गर्न समेत निर्माण व्यवसायीहरुलाई आग्रह गरे ।
थुप्रै विकासका कामहरु सञ्चालनका लागि कानुन बाधक बनिरहेको भन्दै कानुनहरु संशोधन गरेर भए पनि जनतामा भएको निराशा चिर्ने गरी काम गर्नुपर्ने आवश्यकता औंल्याए । नगरप्रमुख पन्थीले राज्यले पनि निर्माण व्यवसायीहरुलाई समयमै भुक्तानी गरी सहजीकरण गरिदिनुपर्ने बताए ।
कार्यक्रमका बिशेष अतिथि संघका केन्द्रीय सदस्य रुद्रप्रसाद शर्माले निर्माण व्यवसायीहरुले समयमै काम सम्पन्न गरे पनि भुक्तानीको समयमा थुप्रै समस्या खेप्नु परेको गुनासो गरे । देशका निर्माता निर्माण व्यवसायीहरु भएको दाबी गर्दै भने,–“निर्माण व्यवसायीहरुले विकासका संरचनाहरु नबनाईदिने हो भने, नेताहरूले के उद्घाटन गर्ने ?”, उनले निर्माण व्यवसायीहरुलाई ठेकेदारको पगरी गुठेर अपहेलित गर्ने गरेकोप्रति आक्रोस प्रकट गरे । “निर्माण व्यवसायीलाई ठेकदार भन्न पाइदैन्।” उनले भने, “यस्तो भाष्यले निर्माण व्यवसायीहरुलाई अपहेलित बनाएको छ ।
सो अवसरमा नेपाली काँग्रेस गुल्मीका उपसभापति अनन्तराम पौडेल, संघका लुम्बिनी प्रदेश सदस्य एवम् निर्माण व्यवसायी संघ गुल्मीका महासचिव हरिकुमार श्रेष्ठले पनि काम गर्दा सजग र सचेत भएर गुणस्तरीय रूपमा काम गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरे । निर्माण व्यवसायीहरूको पेशाप्रतिको इमानदारिता र दक्षता हुन जरूरी रहेको भन्दै एकताबद्व हुन समेत आग्रह गरे ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति गुल्मीका सह–सचिवद्वय छवि पाण्डे,धर्मराज पाण्डे र कोषाध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेय लगायतको आतिथ्यता रहेको थियो ।
