बुटवल l बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब ३६ करोड १३ लाखको बजेट सार्वजनिक गरेको छ । नगरसभाको सत्रौँ अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख सावित्रा देवी अर्यालले बजेट प्रस्तुत गर्दै चालु खर्चमा ४९ प्रतिशत र पूँजीगत खर्चमा ५१ प्रतिशत विनियोजन गरिएको जानकारी दिइन्।
बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ। नगरले आन्तरिक श्रोतबाट ९५ करोड रुपैयाँ आम्दानीको अनुमान गरेको छ ।
बुटवलमा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीलाई ट्राफिक व्यवस्थापनमा खटाउने कार्यक्रमका लागि ५० लाख, निजी क्षेत्रसँग सहकार्यमा समृद्धिको परिकल्पनासहितका कार्यक्रमका लागि १ करोड, पर्यटन प्रवर्द्धनका लागि ५० लाख, सांस्कृतिक शहर निर्माणका लागि १ करोड १५ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
विद्यालय सुधार, न्यूनतम मापदण्ड, डिजिटल लर्निङ, छोरी पढाउँ कार्यक्रम, विपन्न बालबालिकाका लागि पोशाक, कृषि सुधार, स्वास्थ्य सेवा, महिला सशक्तिकरण, पर्यावरण संरक्षण, ऐतिहासिक स्थल संरक्षण, तथा बसोबास व्यवस्थापनका लागि पनि महत्वपूर्ण रकम विनियोजन गरिएको छ ।
नगरप्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रममार्फत ‘घुमौं बुटवल’ अभियान घोषणा गर्दै यस आर्थिक वर्षलाई बुटवल भ्रमण वर्षका रूपमा मनाइने बताए। साथै, परम्परागत सीप प्रवर्द्धन, गृहिणी महिला स्वरोजगार, र गौशाला व्यवस्थापनमा पनि विशेष ध्यान दिइने उल्लेख गरे। बुटवल उपमहानगरको बजेटले समावेशी विकास र स्थानीय आवश्यकता सम्बोधनमा केन्द्रित रहँदै समृद्ध बुटवल निर्माणको खाका प्रस्तुत गरेको छ ।