बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने चर्चा पूर्णतः भ्रमपूर्ण भएको स्पष्ट पारेको छ । संसदीय दलको कार्यालयबाट जारी विज्ञप्तिमा यस्तो विषयमा कुनै औपचारिक छलफल वा निर्णय नभएको उल्लेख गरिएको छ ।
प्रमुख सचेतक जमुना ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “मन्त्रीहरूलाई फिर्ता बोलाउने भन्ने विषयमा कुनै छलफल वा निर्णय भएको हैन । यथार्थ नबुझी भ्रम सिर्जना गरिनु खेदजनक छ ।”
संसदीय दलको आइतबार र सोमबार बसेको दुईदिने बैठकमा केही सांसदहरूले बजेटमा आफ्ना सिफारिस कटौती भएको भन्दै असन्तुष्टि जनाए पनि त्यसलाई कांग्रेसले लोकतान्त्रिक प्रक्रियाअन्तर्गतको स्वाभाविक व्यवहारको रूपमा लिएको छ ।
कांग्रेसले प्रदेश सरकारको बजेटसँग जोडिएर देखिएका समस्याहरूलाई लोकतान्त्रिक विधिबाट समाधान गर्न सबैको सम्मान हुने गरी पहल भइरहेको उल्लेख गरेको छ । हाल लुम्बिनी प्रदेश सरकारमा नेपाली कांग्रेसका पाँच जना मन्त्री रहेका छन् ।