गोपाल प्रसाद भट्टराई अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को अन्तिम चौमासिक सार्वजनिक सुनुवाइ बिहीबार पोखेडाँडामा सम्पन्न गरेको छ। सुनुवाइमा चालु आर्थिक वर्षमा भएका योजना, कार्यक्रम तथा बजेट खर्चको विवरण प्रस्तुत गर्दै नागरिकबाट सुझाव संकलन गरिएको थियो।
नगरपालिकाले चालु वर्षमा ८६ करोड ८८ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएकोमा असार १९ सम्ममा ८६.६ प्रतिशत खर्च भएको जनाइएको छ। चालुतर्फ ८२ प्रतिशत र पुँजीगततर्फ ८१ प्रतिशत बजेट खर्च भएको योजना शाखा प्रमुख हरिश्चन्द्र भुसालले जानकारी दिनुभयो। त्यसैगरी, आन्तरिक आम्दानीतर्फ ८२ लाखको लक्ष्य राखिएकोमा ८१ लाख ३० हजार रुपैयाँ राजस्व संकलन भइसकेको राजस्व शाखा प्रमुख जगतप्रसाद भुसालले बताउनुभयो ।
असार मसान्तसम्म लक्ष्यभन्दा बढी आम्दानी हुने संकेत देखिएको छ। कार्यक्रममा सहजीकरण संस्थाको रूपमा संलग्न नयाँ मिडिया प्रा.ली. र योजना अधिकृत भुसालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उक्त प्रतिवेदनको आधारमा सार्वजनिक सुनुवाइमा सहभागीहरूले नगरपालिकाको सेवा, विकास र बजेटको प्रभावकारिता सम्बन्धी प्रश्नहरू गरेका थिए ।
नगरप्रमुख झविलाल थापाले पारदर्शिता, जवाफदेहिता र सुशासनलाई प्राथमिकता दिइएको बताउँदै जनशक्तिको सदुपयोगमार्फत स्वरोजगारी र आत्मनिर्भरता बढाउन गरिएको प्रयासबारे जानकारी दिनुभयो। उहाँले “कर्मशिल जनशक्ति परिचालन कार्यक्रम” अन्तर्गत बाँझो जग्गामा खेती, रैथाने बाली प्रवद्र्धन, बिउ उत्पादनमा आत्मनिर्भरता, र थाकलको पातबाट झोला–टोपी बनाएर बजारीकरणजस्ता कामलाई प्रगतिको सूचकका रूपमा प्रस्तुत गर्नुभयो ।
उपप्रमुख बालकृष्ण बन्जाडेले सीमित बजेटका कारण सबै माग पूरा गर्न कठिनाइ भए पनि पारदर्शी रूपमा काम भइरहेको स्पष्ट पार्नुभयो। प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले स्रोत र साधनको उचित उपयोग गरेर सेवा प्रवाह र विकासलाई प्रभावकारी बनाउनेतर्फ नगरपालिका लागिपरेको बताउनुभयो। सुनुवाइमा सहभागी नागरिक, जनप्रतिनिधि र सरोकारवालाहरूले शिक्षा, स्वास्थ्य, कृषि, सेवा प्रवाह र अनुगमन प्रणालीलाई अझ प्रभावकारी बनाउन माग गरेका थिए ।
नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित विषयगत शाखा प्रमुख तथा वडाध्यक्षहरूले सोधिएका प्रश्नहरूको जवाफ दिएका थिए। कार्यक्रममा पत्रकार हृदयकुमार भुसाल, गोपालप्रसाद भट्टराई, जितेन्द्र खत्री र अर्जुन भुसालले सहजीकरण गर्नुभएको थियो भने जिल्ला समन्वय समिति अर्घाखाँचीका सदस्य झुपलाल खनाल, वडा अध्यक्षहरू, जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, टोलविकास संस्था, उपभोक्ता समिति र स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।