ललितपुर । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले २०७९ को निर्वाचनमा पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा कारबाही प्रक्रियामा परेका नेता–कार्यकर्तामध्ये लुम्बिनी प्रदेशबाट सबैभन्दा बढी ३६ जनाको पुनरावेदन निवेदन प्राप्त भएको जनाएको छ।
अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाका अनुसार, पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गर्ने तथा विपरीत उम्मेदवारी दिने कार्यमा संलग्न रहेको उजुरीका आधारमा देशभरबाट ८८ जना नेता–कार्यकर्ताले कारबाही फुकुवाको लागि पुनरावेदन गरेका छन्। ती मध्ये लुम्बिनी प्रदेशबाट ३६ जना, मधेशबाट २३, कोशीबाट १७, वागमतीबाट ४, गण्डकीबाट ३, कर्णालीबाट ४ र सुदूरपश्चिमबाट १ जना रहेका छन्।
यसअघि कैलाली, डोल्पा, सल्यान, दैलेख, खोटाङ र धनुषाका २६ जना पार्टी नेता तथा कार्यकर्तालाई पार्टी हितविपरीत काम नगर्न सचेत गराउने निर्णय समेत गरिएको छ।
पुनरावेदनमा परेका सबै मुद्दा केन्द्रीय कार्यसमितिको २०८२ असार २२ गतेको बैठकमा पेश भइसकेको छ ।