गोपाल प्रसाद भट्टराई अर्घााँची । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा अर्घाखाँचीमा विविध कार्यक्रम आयोजना गरिएको छ। लुम्बिनी वाङ्गमय प्रतिष्ठान अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित परिसंवाद कार्यक्रमको अवसरमा संस्कृति संरक्षणमा सक्रिय जनार्दन खनाललाई सम्मान गरिएको हो ।
मालारानी–३ निवासी खनाललाई नेपाली संस्कृति संरक्षण र विकासमा कलम चलाएको योगदानस्वरूप प्रतिष्ठानको केन्द्रिय समितिले सम्मानपत्रद्वारा अभिनन्दन गरेको हो।खनाल संस्कृति संरक्षण मञ्च अर्घाखाँचीका अध्यक्ष समेत हुन्।
कार्यक्रममा प्रमुख अतिथि तथा प्रतिष्ठानका अध्यक्ष ऋषि आजादले जनार्दन खनालद्वारा संकलित ‘अर्घाखाँचीका फागु गीत’ संग्रह र उहाँको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
सोही अवसरमा भानुजयन्तीलाई सार्थक बनाउँदै एक परिसंवाद कार्यक्रम पनि सञ्चालन गरिएको थियो। उक्त परिसंवादमा नेपाली संस्कृतिको निर्माण र प्रवर्द्धनमा भानुभक्तीय रामायणले पुर्याएको प्रभावबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमको सञ्चालन लुम्बिनी वाङ्गमय प्रतिष्ठानका केन्द्रिय सदस्य राजकुमारी कुँवरले गर्नुभएको थियो। परिसंवादमा पूर्वप्राध्यापक हुमकान्त पाण्डे, संस्कृतिविद् उत्तरकुमार पराजुली, प्रा. माधवराज चुँदाली, साहित्यकार लक्ष्मी कोकिला पोख्रेल, र प्राध्यापक बिमला खनाललगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
वक्ताहरुले आदिकवि भानुभक्त आचार्यले संस्कृत भाषामा रहेको रामायणलाई भावानुवादसहित नेपाली भाषामा ल्याएर आमजनसम्म पुर्याएको उल्लेख गर्दै उहाँको योगदानलाई नेपाली भाषा, साहित्य र संस्कृतिको विकासको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्नुभयो। लुम्बिनी वाङ्गमय प्रतिष्ठान अर्घाखाँचीका अध्यक्ष विष्णु प्रसाद बस्यालको अध्यक्षता, उपाध्यक्ष कमल पोख्रेलको स्वागत मन्तव्य तथा सचिव तिर्थराज आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा भानुभक्तको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो।
कार्यक्रममा अर्घाखाँचीका साहित्यकार, श्रष्टा तथा लेखकहरूको उल्लेख्य सहभागिता रहेको थियो। स्थानीय स्रष्टाहरुले आफ्ना साहित्यिक रचनाहरू वाचन गर्दै भानुभक्तप्रतिको श्रद्धा प्रकट गरेका थिए ।