काठमाडौं । चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई करिब ८५ लाख रुपैयाँ बराबरको खेल सामग्री तथा स्वास्थ्य परीक्षण उपकरण सहयोग हस्तान्तरण गरेको छ ।
नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ द मिसन वाङ झिनले राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा आयोजित एक विशेष कार्यक्रममा ती सामग्रीहरू हस्तान्तरण गरेका थिए । हस्तान्तरण गरिएको सामग्रीमा स्वास्थ्य परीक्षण किटहरू सहित कुल ३४ प्रकारका खेल तथा स्वास्थ्य उपकरण समावेश थिए ।
कार्यक्रममा बोल्दै राखेप उपाध्यक्ष ध्रुव आचार्यले चीन सरकारलाई धन्यवाद ज्ञापन गर्दै सहयोगले नेपाली खेलाडीको प्रशिक्षण र स्वास्थ्य परीक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। सदस्य–सचिव टंकलाल घिसिङले नेपाल–चीन सम्बन्धमा विभिन्न क्षेत्रहरूमा आएको सहयोगलाई उल्लेख गर्दै यस सहयोगले मिसन–२०२६ अन्तर्गत तयारीमा रहेका राष्ट्रिय टिमलाई विशेष सहयोग पुग्ने बताए ।
उनले थपे, “२०औं एसियाली खेलकुद आउन अहिले मात्र १३ महिना बाँकी छ, त्यसैले यो समय निकै पेचिलो भएको छ, दृढ संकल्पका साथ प्रशिक्षणलाई आगामी दुई हप्ताभित्र शुरू गरिने” । साथै, ती दुई हप्तामा राष्ट्रिय टिमका खेलाडीहरूको शारीरिक र खेलगत परीक्षण गरिने छ भन्ने जानकारी पनि दिइयो ।
डेपुटी चिफ द मिसन वाङ झिनले चीन–नेपाल सम्बन्धलाई अझ सुदृढ बनाउन यस्तो सहयोग निरन्तर रहने बताए । कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामचरित्र मेहताले विगतमा चीनले खेल क्षेत्रलाई निरन्तर सहयोग गर्दै आएको बताए । कार्यक्रममा राखेपका कन्सुल, कार्यकारी समिति सदस्यहरू र राष्ट्रिय टिमका खेलाडी तथा प्रशिक्षकहरूको पनि उपस्थिति रहेको जानकारी दिइएको छ ।