काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिएका छन् । उनले केही दिनअघि अखिल नेपाल फुटबल संघ (एन्फा) समक्ष राजीनामा बुझाएका हुन् । एसियन कप छनोटका क्रममा उज्वेकिस्तानमा एन्फासँग विवाद भएपछि प्याट्रिक नेपाल फर्किएका थिएनन् ।
एक अन्तरवार्तामा उनले एन्फाका पदाधिकारी, सहायक प्रशिक्षक र व्यवस्थापकमाथि गम्भीर आरोप लगाएका थिए । त्यसपछि हेड अफ डेलिगेट्स सरिला श्रेष्ठ, व्यवस्थापक विन्द्रा देवान र सहायक प्रशिक्षक राजेन्द्र तामाङसहितको टोलीले पत्रकार सम्मेलन गरी उनका आरोपको खण्डन गरेको थियो । गत जेठ २२ गते एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त भएका प्रो लाइसेन्सधारी प्याट्रिकले विवादकै कारण एक महिनामै पद त्याग गरेका हुन् ।