काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नीतिगत सुधार नगरी मुलुकको समृद्धि हासिल गर्न नसकिने बताएका छन् ।
आज सोमबार खुमलटारस्थित आफ्नो निवासमा नेपाल उद्योग परिसंघ (CNI) का नवनिर्वाचित पदाधिकारीहरूसँगको भेटमा बोल्दै उनले राज्यको माइन्डसेट परिवर्तन गरी निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिनुपर्ने बताए ।
दाहालले देशको आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै भने, “निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना तयार नगरी समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन। राज्यले सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ ।”
सो अवसरमा सीएनआइका पदाधिकारीहरूले पनि मुलुकको आर्थिक समृद्धिमा निजी क्षेत्रको योगदान र प्रचण्ड प्रधानमन्त्री हुँदा गरिएको सहकार्य सशक्त रहेको स्मरण गरेका थिए ।