काठमाडौं । पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले आफ्नो पूर्ववासमा पत्रकारहरूसँग कुरा गर्दै नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्दै अब पछि नहट्ने स्पष्ट बताएकी छन् । निवास भंगालबाट उक्त पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले महाधिवेशन नआइकनै नेतृत्वको बहस गराएर कार्यकर्ता विभाजित गर्ने प्रयास भइरहेको आरोप लगाइन् ।
उनले एमालेभित्र कार्यकर्ताहरूलाई ‘टेरर’ गर्ने, बोल्न नदिने र बोल्नेलाई कारबाही गर्ने प्रवृत्ति रुच्याउन नसक्ने बताउँदै भनिन्, “दल अनैतिक अखडा हो? उच्च नैतिकताको मान्छे दलमा आयो भने दल पनि नैतिक हुन्छ नि। अहिले जसरी कार्यकर्तालाई टेरर गर्ने, बोल्न नदिने र बोलेबापत कारवाही गर्ने… यो ठिक छैन ।”
भण्डारीले आफूले आफ्नो सदस्यता नवीकरण गरिसकेको र यस विषयमा अध्यक्ष केपी ओलीसँग कुराकानी पनि भएको जानकारी दिइन्। साथै नयाँ वर्षको वक्तव्यपछि ओली असन्तुष्ट भएको सुनाइन् ।
उनले आफू पार्टी र महिला आन्दोलन हुँदै देशको नेतृत्व गर्ने कठिन समयमा अघि बढेको स्मरण गराउँदै भनिन् कि अनावश्यक विवाद खडा गरिनु ठीक नभएको बताइन्। भण्डारीले अन्तरङ्ग रुपमा कार्यकर्तासँग रहेको नेतृत्वको असुरक्षा र विभाजनको वातावरण रोक्न पनि आग्रह गरिन् ।
हाल उनको यो सक्रियता एमाले नेतृत्वको भविष्य र पार्टीभित्रको आन्तरिक समीकरणमा शक्ति सन्तुलनमा महत्वपूर्ण मोड हुनसक्ने विश्लेषकहरू बताउँछन् ।