गुल्मी । गुल्मीको रिडी–वामीटक्सार सडक अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । सोमबार रातिदेखि परेको लगातारको वर्षाले सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा पानीको बहाव बढ्दा सडक सञ्चालनमा अवरोध भएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले पानी र लेदोले सडक पूरै बन्द भएको जानकारी दिएका छन् ।
डहरे खोलाबाट आएको बाढीले गर्दा रिडी हुँदै बागलुङको बुर्तिवाङतर्फ आवतजावत गर्ने सवारी साधन चल्न सकेका छैनन् । अवरुद्ध सडक खुलाउन जोहाङ्ग खैरेनीबाट प्रहरी टोली खटिएको भए पनि निरन्तर पानी परिरहेको कारण सडक खुलाउने कार्यमा कठिनाइ भइरहेको छ ।
त्यस्तै, दुई दिनदेखि जारी लगातारको वर्षाले बडिगाड खोलामा पनि पानीको बहाव तीव्र बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले खोलानजिक बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। साथै, अत्यावश्यक कामबाहेक लामो यात्रा नगर्न समेत अनुरोध गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार गुल्मीका एक सय ८० भन्दा बढी स्थानहरू बाढी तथा पहिरोको उच्च जोखिममा रहेका छन् ।
उता, बैतडीको पाटन नगरपालिका–४ जेउडे मोडमा खसेको पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । सोमबारदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा बाटोमै रोकिएका सवारी साधन अलपत्र परेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलराम पाण्डेयले पहिरोका कारण विद्युत् पोल समेत जोखिममा परेको जानकारी दिएका छन् ।
सडक खुलाउने प्रयास जारी रहे पनि निरन्तर वर्षाका कारण समस्या थपिएको स्थानीय प्रशासनले जनाएको छ।