बागमती । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको चयनका लागि आज निर्वाचन हुँदैछ। निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ भने मतदान दिउँसो २ बजेदेखि ३ बजेसम्म संसदीय दलको कार्यालय परिसरमै हुने कार्यक्रम छ ।
निर्वाचनका लागि हरिशरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । समितिले बिहानैदेखि प्रक्रिया सुरु गरिसकेको जनाएको छ। मतदाता नामावली सार्वजनिक भइसकेको छ ।
हाल उपनेताको जिम्मेवारी सम्हालिरहेका ललितपुरका सांसद रामकृष्ण चित्रकारलाई उम्मेदवारीका लागि अनुरोध गरिए पनि उनले मानेका छैनन्। यदि अन्तिम समयमा चित्रकारले उम्मेदवारी नदिएमा बहादुर सिंह लामा नै उम्मेदवार हुने सम्भावना रहेको कांग्रेस नेताहरूले जनाएका छन् ।
यसअघि मंगलबार लामाविरुद्धको अविश्वास प्रस्तावमा ३७ मध्ये २२ मत पक्षमा परेपछि उनी नेतृत्वबाट हटिएका थिए । अहिले इन्द्र बानियाँ एउटा समूहबाट उम्मेदवार बन्ने लगभग पक्का भएको छ । अर्को समूहबाट भने अन्तिम निर्णय हुन बाँकी छ ।