पोखरा l परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले राजनीतिमा लाग्न हिम्मत आवश्यक हुने बताउँदै आफूले पनि त्यही साहसका साथ राजनीतिमा प्रवेश गरेको स्पष्ट पारिन् ।
बुधवार पोखराको लेकसाइडमा अंशुब्रम्हा ग्रुपले संचालनमा ल्याएको बगैंचा रिसोर्टको उद्घाटन समारोहमा बोल्दै उनले भनिन्, "म राजनीतिमा ढिलो लागेकी हुँ, सुरुमा व्यापार गरेर सफल भएँ र त्यसपछि मात्र राजनीतिमा आएँ ।"
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा अध्यक्ष रहेको कार्यक्रममा मन्त्री राणाले वर्तमान सरकारको स्थायित्व र सशक्त सत्ता समीकरणको बचाउ गरिन्। उनले भनिन्, “कांग्रेस र एमालेको सत्ता समिकरणले देशलाई अगाडि बढाएको छ। देउवा र ओलीको नेतृत्वले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा पत्यारिलो बनाएको छ ।”
नेपालमा ‘केही भएन’ भन्ने सोचलाई नकारात्मक भन्दै उनले नेपालमा धेरै परिवर्तन र विकास भएको दाबी गरिन्। साथै, विदेश गएर श्रम गर्नुभन्दा आफ्नै देशमा इज्जतका साथ काम गर्न उनले युवाहरुलाई आग्रह गरिन् ।
जलवायु परिवर्तनका सन्दर्भमा बोल्दै मन्त्री राणाले उत्तर र दक्षिणतर्फ बाढीको असर देखिन थालेको समाचारहरूप्रति चिन्ता व्यक्त गर्दै नेपालले पनि सतर्कता अपनाउनुपर्नेमा जोड दिइन् ।