रोल्पा । योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपाल रोल्पाले जलजलामा प्राथमिक उपचार सेवा र सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। साउने पूर्णिमामा पूजा गर्न आएका भक्तजन र घुम्न आएका पर्यटकलाई लक्षित गरी साउन २३ र २४ गतेसम्म "श्रम तथा उत्पादन अभियान" अन्तर्गत वाइसीएल सहायता कक्ष सञ्चालन गरिएको हो।
वाइसीएल रोल्पाका उपाध्यक्ष हिमाल रसाइलीका अनुसार, प्राथमिक उपचार सेवाबाट ११३ जनाले औषधि लिएका छन् भने अन्य धेरैले अक्सिजन र रक्तचाप जाँच गराएका छन्। साथै जलजला क्षेत्रमा सरसफाइ कार्य पनि गरिएको छ।
प्राथमिक उपचार सेवामा वाइसीएल नेपालका केन्द्रीय सचिव विशाल बुढा, केन्द्रीय सदस्य दिपेन्द्र घर्ती, रोल्पा अध्यक्ष मिलन पुन, रोल्पा इन्चार्ज विजय बुढा, लुम्बिनी प्रदेशका कोषाध्यक्ष गोविन्द ओली, सदस्य रामकिलाल झाक्री मगर, थबाङ गाउँपालिका इन्चार्ज तथा पार्टी सहसचिव खेम बुढा, स्वास्थ्यकर्मी हिमाल पुन मगर र सत्य नारायण बुढा मगरलगायतको सक्रिय सहभागिता रहेको थियो।
जलजला सरसफाइ कार्यक्रम थबाङ गाउँपालिका वाइसीएल नेपालका अध्यक्ष धिरेन्द्र बुढा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रीय, प्रदेश, जिल्ला, गाउँपालिका र वडा तहका पदाधिकारी तथा सदस्यसहित करिब ७० जना वाइसीएल समर्थक सहभागी थिए ।