काठमाडौं । नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागका प्रमुख तथा पार्टी केन्द्रीय सदस्य अब्दुल सत्तारको अध्यक्षतामा आईतबार काठमाडौंमा बसेको विभागीय बैठकले संगठनलाई अझ सुदृढ बनाउन, गतिविधिलाई व्यवस्थित ढंगले अघि बढाउन र आगामी कार्यक्रमहरूको कार्यतालिका निर्धारण गर्न विभिन्न निर्णयहरू गरेको छ । बैठकको जानकारी विभागकी सचिव निर्मला क्षेत्रीले दिनुभयो ।
बैठकले हालै भाद्र २ गते नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा सम्पन्न शुभेच्छुक संस्थाहरूसँगको अन्तरक्रिया तथा तीज विशेष शुभकामना आदान–प्रदान कार्यक्रमलाई स्मरण गर्दै, उक्त कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथि र महामन्त्री गगनकुमार थापा विशिष्ट अतिथि हुनु भएको उल्लेख गर्यो ।
उहाँहरूको सक्रिय उपस्थिति र सम्बोधनले कार्यक्रमलाई भव्य र सफल बनाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै बैठकले विशेष कृतज्ञता प्रकट गरेको छ । बैठकले संगठनात्मक विषयलाई प्राथमिकतामा राख्दै, अहिलेसम्म संगठनसम्बन्धी प्रतिवेदन नपठाएका शुभेच्छुक संस्थाहरूसँग पुनः पत्राचार गरी छिट्टै प्रतिवेदन उपलब्ध गराउन आग्रह गर्ने निर्णय गरेको छ ।
विभागीय गतिविधिलाई देशभर प्रभावकारी बनाउन सातै प्रदेशका शुभेच्छुक संस्था समन्वय विभागसँग सहकार्य गरी कार्यक्रम सञ्चालन गर्ने योजनामा बैठकले जोड दिएको छ ।
त्यसैगरी, बैठकले प्रदेश स्तरीय कार्यक्रमहरूलाई सफल बनाउन नेपाली कांग्रेस प्रदेश कार्यसमितिसँग आवश्यक सहयोगका लागि औपचारिक अनुरोध गर्ने निर्णय गरेको छ । भर्खरै सम्पन्न अन्तरक्रिया तथा तीज विशेष कार्यक्रममा लागेको खर्चलाई पारदर्शी ढंगले सार्वजनिक गर्ने र उक्त कार्यक्रम सफल बनाउन सहयोग गर्ने महानुभावहरूलाई सम्मानपत्रद्वारा सम्मान गर्ने पनि निर्णय बैठकले गरेको छ ।
बैठकले शुभेच्छुक संस्थाको भूमिकालाई अझ सशक्त र परिणाममुखी बनाउनुपर्ने निष्कर्ष निकाल्दै, आगामी दिनमा पार्टी र समाज दुवै क्षेत्रमा सक्रिय उपस्थिति जनाउने प्रतिवद्धता पनि जाहेर गरेको छ ।
विभागीय सचिव निर्मला क्षेत्रीका अनुसार, नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागले पारित कार्यतालिका र निर्णयलाई आधार बनाएर सातै प्रदेशमा चरणबद्ध रूपमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।