काठमाडौं l प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज दिउँसो भएको भिडियो कन्फरेन्स करिब २० मिनेटसम्म चलेको छ।
दुई राष्ट्र प्रमुखबीच भएको संवादलाई दुवै पक्षले अत्यन्तै सकारात्मक भएको बताएका छन्। कुराकानीमा प्रधानमन्त्री मोदीले नेपालमा शान्ति, स्थायित्व र लोकतान्त्रिक यात्रालाई भारतले निरन्तर सहयोग गर्ने दृढ प्रतिवद्धता व्यक्त गरे।
उनले नेपालका युवाहरूद्वारा नेतृत्व गरिएको जेन–जी आन्दोलन मा भएको मानवीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै मृतक परिवारप्रति हार्दिक समवेदना पनि जनाए।
प्रधानमन्त्री मोदीले नेपालको संविधान दिवसको अवसरमा नेपाली जनतामा शुभकामना दिँदै भारत सदैव छिमेकीको हैसियतले सहयोगी बन्ने आश्वासन दोहोर्याए।
यसबीच प्रधानमन्त्री कार्कीले नेपालले राजनीतिक संक्रमण पार गर्दै अघि बढिरहेको बेला भारतबाट प्राप्त हुने सहयोगले आपसी सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।