काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट सरकार गठन गर्ने कुनै उपाय नभएपछि संसद् विघटन गरिएको बताउनुभएको छ ।
संविधान दिवसका अवसरमा आज शीतल निवासमा आयाेजित कार्यक्रममा राष्ट्रपति पाैडेलले यस्ताे बताउनुभएकाे हाे । देश फेरि नयाँ सपनाका साथ परिवर्तनको नवमार्गमा प्रवेश गरेको उल्लेख गर्दै उहाँले नयाँ जनादेशले लोकतन्त्रलाई संस्थागत गर्दै देशको आउँदाे बाटो तय गर्ने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति पाैडेलले अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै ६ महिनाभित्र चुनाव सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । अबको ६ महिनाभित्रमा चुनाव सम्पन्न गर्न सबैले सहयोग गर्न उहाँकाे आग्रह छ ।
राष्ट्रपति पाैडेलले राजनीतिक दल, देशको शासन तथा व्यवस्थापनमा आबद्ध निकाय र बौद्धिक समुदायलाई असहमति र द्वन्द्व नभई पूर्वाग्रहरहित भएर समन्वय र सहकार्यका साथ चुनावकाे सफलताका लागि क्रियाशील हुन आह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘देश फेरि एक पटक नयाँ सपनाका साथ परिवर्तनको नवमार्गमा प्रवेश गरेको छ । नयाँ जनादेशले लोकतन्त्रलाई संस्थागत गर्दै देशको आउँदाे बाटो तय गर्नेछ भन्ने मेरो दृढ विश्वास छ । अहिले बनेको अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै ६ महिनामा चुनाव सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नेछ । यो नै सबै नेपालीको अहिलेको मुख्य कार्यभार हो । प्रतिनिधिसभाबाट सरकार गठन गर्ने कुनै उपाय नभएपछि आमसहमतिले यो कदम चालिएको कुरा सबैले बुझौँ ।’
राष्ट्रपतिले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रदाञ्जली व्यक्त गर्नुका साथै परिवारजनमा समवेदना पनि व्यक्त गर्नुभयो ।