काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले १८ अौँ अधिवेशन समापनका सन्दर्भमा नियमित बैठक बस्न नसकेको हुँदा सो अधिवेशनमा भए गरेका कामकारबाही सार्वजनिक गर्न निर्देशन दिएका छन् ।
आइतबार सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अध्यक्ष दाहालले भए गरेका कामकारबाही सार्वजनिक गर्न निर्देशन दिएका हुन् ।
अध्यक्ष दाहालको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष विमला घिमिरे, राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरू, कार्यव्यवस्था परामर्श समितिमा रहेका सदस्यहरू, राष्ट्रियसभा सचिवलगायतको सहभागिता थियो ।
बैठकमा समसामयिक अवस्थामा राष्ट्रिय सभाको भूमिकाका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै, गत जेठ ११ र १२ गते सातवटै प्रदेशमा सम्पन्न ‘सङ्घीयता सबलीकरणमा राष्ट्रियसभाको जिम्मेवारी प्रदेश र स्थानीय तहसँग समन्वय र साझेदारी’ विषयक निर्वाचक मण्डलहरूसँगको समन्वय बैठक र अन्तरक्रिया कार्यक्रमको एकीकृत प्रतिवेदन आवश्यक परिमार्जनसहित टुङ्ग्याएर सार्वजनिक गर्ने निर्णय भएको दाहालको सचिवालयले जानकारी दिएको छ ।