ललितपुर- नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक आज शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ।
बिहीबार उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा सबै पदाधिकारीको धारणा राख्ने क्रम नसकिएकाले बैठक स्थगित गरिएको थियो, प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
डा. महतका अनुसार बैठकमा वर्तमान राजनीतिक चुनौती, पार्टीको रणनीति, नियमित अधिवेशन मङ्सिरभित्र सम्पन्न गर्ने सम्भाव्यता लगायतका विषयमा छलफल हुनेछ।
बैठकमा जेनजी आन्दोलनका क्रममा निजी सम्पत्ति, नेता, व्यवसायी र राष्ट्रिय सम्पत्तिमा भएको आगजनीका घटनामा कारबाही गर्नुपर्ने कांग्रेसको धारणा पनि प्रस्तुत भएको छ। अराजकतालाई कारबाही नगर्दा पुँजी पलायनको खतरा बढ्ने भन्दै गृह मन्त्रालयको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरिएको छ।
प्रवक्ता महतले भने, “नेताहरूको घर जलाइयो, किसुनजीको आश्रम जलाइयो, लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार भयो, आन्दोलनमा गोली चलाउनेको पहिचान गरी कारबाही हुनुपर्छ।”
साथै, कांग्रेस जहिले पनि निर्वाचनका लागि तत्पर रहेको भए पनि विश्वसनीय निर्वाचन सुनिश्चित नगरे संसद् पुनःस्थापनाको विकल्प समेत विचार गर्न सकिने धारणा बैठकमा राखिएको छ।