रोल्पा - नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले सबै राजनीतिक दलहरूलाई समयमै सचेत र जनमुखी काममा केन्द्रित हुन आग्रह गर्नुभएको छ।
नेपाली कांग्रेस परिवर्तन गाउँपालिका–१ कुरेलीमा आयोजित “जय नेपाल खडक स्मृति प्रथम कप” उद्घाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै सभापति पुनले देशले जब–जब संकटको सामना गरेको छ, नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको स्मरण गर्नुभयो ।
“चाहे राणा शासनको अन्त्य होस्, पञ्चायतविरुद्धको आन्दोलन होस्, वा बन्दुकको शासनबाट देशलाई शान्ति प्रक्रियामा ल्याउने कार्य होस्— प्रत्येक ऐतिहासिक मोडमा नेपाली कांग्रेस अगाडि रहेर भूमिका खेलेको छ,” उहाँले भन्नुभयो । उहाँका भन्नुभयो विपि कोइरालादेखि सुशील कोइराला र अहिलेका सभापति शेरबहादुर देउवासम्म कांग्रेस नेतृत्वले लोकतन्त्र र संविधानका पक्षमा निरन्तर योगदान दिइरहेको छ।
पुनले भने, “नेपालका कम्युनिस्ट पार्टीहरूले माक्र्सवादको कुरा गर्छन्, हामीले विपिको समाजवादलाई व्यवहारमा उतार्नुपर्छ। संसदीय व्यवस्थाको आधार नै कांग्रेसको सिद्धान्त र नीति हो।”
अहिलेको राजनीतिक परिस्थिति विषम रहेको उल्लेख गर्दै उहाँले दलहरूबीचको आरोप–प्रत्यारोपको संस्कृति अन्त्य गरी संविधान, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय एकताको संरक्षणमा सबै दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले “संविधान जारी गर्न सबै दलहरूको साझा भूमिका थियो, त्यसैले त्यसको संरक्षण पनि सबैको साझा दायित्व हो। अहिले ‘सत्तामा हुँदा सबै ठिक, सत्ताबाहिर हुँदा सबै बेठिक’ भन्ने प्रवृत्तिले समस्या बढाएको छ। यो सोचमा सबै दल सचिनु जरुरी छ ।”
सभापति पुनले दलहरू जनमुखी काममा लाग्न नसके देश थप संकटमा जाने चेतावनी पनि दिनुभयो। उहाँका अनुसार, “चाहे नेपाली कांग्रेस होस् वा अन्य दल, यदि जनताको हितभन्दा आफ्ना मान्छेलाई मात्र अगाडि सार्ने प्रवृत्ति रोकिएन भने लोकतान्त्रिक प्रणाली कमजोर बन्छ।”
उहाँले संविधान र व्यवस्थाको रक्षा गर्न सबै दलबीच सहकार्य, सहमति र एकता अपरिहार्य रहेको बताउँदै, “हिजो संघर्षमा सँगै रहेका कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलहरूले अहिलेको चुनौती समाधान गर्न पनि एकै ठाउँमा उभिनुपर्छ,” भन्ने आग्रह गर्नुभयो ।