काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीमा फुट आउँछ भनेर कसैले पनि कल्पना नगरे हुने बताएका छन् । कांग्रेस महाधिवेशनका विषयमा पार्टीभित्र मतभेद चर्किरहेका बेला उनले यस्तो बताएका हुन् ।
शनिबार (कात्तिक १५) केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उनले पार्टीभित्र फरक मत विगत र भविष्यमा पनि रहने तर्क गरे । त्यसैका आधारमा फुट आउँछ भनेर भन्न नमिल्ने उनले बताए ।
उनले विवादको टुंगो लगाउन महासमिति सदस्यका सुझावलाई निर्णयको आधार बनाउन सकिने प्रस्ताव समेत गरे ।
महामन्त्री शर्माले आफूहरूले आउँदो पुस १६, १७, १८ र १९ गते महाधिवेशन गर्दा हुने प्रस्ताव गरेको जानकारी दिए ।
विश्वप्रकाश शर्माको भनाइ पढ्नोस्–
जति गहन छलफल भएर निष्कर्षमा पुगिन्छ नि, जस्तो मोही पार्न पनि के हुन्छ भने हल्का फिट्दा त हल्का पिउने मोही हुन्छ । तर, राम्रोसँग फिटेपछि घिउ पनि राम्रोसँग निस्कन्छ । नेपाली कांग्रेस एउटा परिपक्व, पाको, जिम्मेवार दल हो । त्यस हिसाबले खोज्ने हो भने सबभन्दा पहिले भदौ २३ र २४ को घटनापछि सबैभन्दा पहिले २५ गते वक्तव्य कसको थियो ? कांग्रेसको नै थियो । त्यसलगत्तै सबैभन्दा पहिले जुम बैठक कसको भएको थियो ? कांग्रेसकै भएको थियो । सबभन्दा पहिलो प्रतिनिधिसभा विघटन संविधानसम्मत छैन भनेर जुम बैठकको निर्णय कसले सार्वजनिक गरेको थियो ? कांग्रेसले गरेको थियो । सबैभन्दा पहिले भौतिक रूपमा असोज ३ गते बैठक कसले गरेको थियो ? केन्द्रीय कार्यालयमा खरानी पन्छाउँदै कांग्रेसले नै गरेको थियो । अहिले हामीले समय लगाएर गर्नुको पछिल्तिर पनि कारणहरू छन् । सबैलाई एकताबद्ध गर्नु छ । फरक–फरक विचारहरू छन । सबैलाई एक ठाउँमा राख्नु छ । मन्थन गर्नु छ । त्यसले गर्दा समय लागेको कुराभन्दा पनि समयोचित निर्णय गर्ने कुराका लागि समय लगाएका हौँ । कांग्रेस फुट्छ भनेर कसैले कल्पना नगरे हुन्छ । नेपाली कांग्रेसभित्र फरक–फरक मतहरू विगतमा पनि थिए । अहिले पनि छन् । भविष्यमा पनि रहन्छन् । नेपाली कांग्रेस पार्टीभित्रको सौन्दर्यलाई हेर्नु न, पार्टीको आदरणीय सभापतिजीले अहिलेको राष्ट्रिय परिस्थिति ध्यानमा राखेर मैले पोस्ट गर्दा पनि भनेको थिएँ– केन्द्रीय समितिमा बहुमत त छँदै थियो त, केन्द्रीय समितिको बैठक बसेर तपाईं छोड्नुस् भन्न परेन त ! देशभरका महाधिवेशन प्रतिनिधिहरू हस्ताक्षर गर्दै हुनुहुन्थ्यो, दर्ता गरेकै थिएन त । कुन राजनीतिक दलमा देख्नुभएको छ ? फर्स्ट म्यानले अहिलेको परिस्थितिमा म मेरो काँधको जिम्मेवारी अरूलाई सुम्पिन्छु भनेर कुन राजनीतिक दलको देख्नुभएको छ ? कुनैको पनि छैन । त्यसैले नेपाली कांग्रेस पार्टी त अत्यन्तै परिपक्व र जिम्मेवार ढंगले अहिलेको विषयवस्तु र समयलाई हेर्छ । त्यो हेर्ने कार्यक्रमको सुरुआत नेपाली कांग्रेस पार्टी सभापतिको सारगर्भित स्टेटमेन्टबाट भइसकेको छ । अहिलेको कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा हामी छलफलहरू गरिरहेका छौँ । छलफलहरू हुन दिनुस् । फरक–फरक विचार छन् । फरक–फरक विचार राख्दै गर्दा मध्यमार्गी ढंगको कुरा मैले राखिरहेको तपाईंहरूले सुन्नुभएकै छ । कसैले मंसिरमा नै गरौँ भन्ने होला । कसैले वैशाखमा पुर्याऊँ भन्नुभयो होला । मैले के भनेको छु भने मंसिरमा गर्न ढिलो हुन लाग्यो । चारवटा विकल्प छन् । मंसिरमा नै महामन्त्री गगन थापाले राखेको प्रस्तावानुसार जाऊँ, त्यो पनि ठिक छ । हुन्न भने विशेष अधिवेशन दुईवटा तरिकाले गर्ने । एउटा, केन्द्रीय समितिले बोलाउने । अर्को, महाधिवेशन प्रतिनिधिहरूको ४० प्रतिशत मतको आधारमा गर्ने । त्यो पनि नभए पुसको १६, १७, १८, १९ बीपी कोइरालाले मेलमिलापको नीति लिएर आएको जुन समय हो, जुन दिन हो, त्यही ऐतिहासिक दिनको दिन गरौँ भनेँ । त्यसमा आज मैले थप के कुरा भनेको छु भने भोलिदेखि बैठक बस्ने कुरामा सहमतिपूर्वक प्रस्ताव लिएर जाऊँ । मंसिर वा वैशाख कहिले गर्ने भनेर सहमतिपूर्वक प्रस्ताव लिएर जाऊँ । तर, महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षरलाई कसैले पनि अवमूल्यन गर्न मिल्दैन । त्यसलाई केन्द्रमा राखेर जाऊँ । त्यो गर्न सकिएन भने केन्द्रीय समितिको बहुमत आफ्नो ठाउँमा छ । महाधिवेशन प्रतिनिधिको बहुमत आफ्नो ठाउँमा छ । दुवै यो ठाउँमा समाउनेभन्दा मध्यमार्गीबाट यी दुवैभन्दा माथि महासमिति छ, डिजिटल भोटिङ सिस्टमबाट जान सकिन्छ । महासमितिमा युरोप, अमेरिकादेखि खाडी मुलुकसम्म रहेका, ताप्लेजुङदेखि दार्चुलासम्म रहेका, मुस्ताङदेखि महोत्तरीसम्म रहेका साथीहरूको भावनालाई डिजिटल प्रक्रियाबाट पुसको १६, १७ तिर गर्ने कि वैशाखमा पुर्याउने भनेर हामीले राय लिन सक्छौँ । यो कुरा मैले आजको बैठकमा पनि भनेको छु ।