काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेताहरुसँग निर्वाचनका विषयमा परामर्श जारी राखेकी छन् । शनिबार उनले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेको सचिवालयले जनाएको छ ।
दिउँसो ४ देखि ५ बजेको बीचमा करिब एक घण्टा चलेको छलफलका क्रममा आगामी निर्वाचनबारे हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएका तयारी र आउँदा दिनमा गर्नुपर्ने कामका विषयमा खुलेर कुराकानी भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले बताए ।
प्रधानमन्त्री कार्कीले चुनावमा राजनीतिक दलको स्पष्ट प्रतिबद्धता आउनुपर्ने बताएकी थिइन् ।
त्यस क्रममा महामन्त्रीद्वयको भनाइ थियो, "औपचारिक निर्णय गर्न बाँकी भए तापनि नेपाली कांग्रेस निर्वाचनमा जान प्रतिबद्ध छ। अब चाँडै निर्णय पनि गर्छौँ। नेकपा एमाले पनि राष्ट्रलाई निकास दिनका लागि निर्वाचनबाट भाग्न सक्दैन भन्ने नै लाग्छ। एमालेलाई मनाउन सरकारले पनि थप प्रयास गरोस्। हामी पनि प्रयास गर्छौँ।"
उनीहरुले आफ्नो पार्टीले जेनजी युवालगायत अन्य दलहरुसँग पनि तुरुन्तै गहन संवाद गर्ने बताएका थिए ।
जेनजीलगायत सबै राजनीतिक दलहरुसँग गहन छलफल गरेर युवा आन्दोलनका मागलाई निर्वाचनअघि केके सम्बोधन गर्न सकिन्छ र निर्वाचनपछिको संसदको पहिलो बैठकले केके निर्णय गर्ने भन्ने विषयमा पनि अहिले नै सहमति गरेर जानुपर्ने धारणा उनीहरूले राखेका थिए ।
प्रधानमन्त्री कार्कीले एमाले नेतालाई पनि छलफलका लागि बोलाएकी छन् ।