काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले देशमा देखा परेका राष्ट्रिय समस्याहरूको समाधानमा सबै राजनीतिक शक्ति गम्भीर र जिम्मेवार बन्नुपर्ने सुझाव दिनुभएको छ ।
उहाँले भन्नभयो, अहिलेको संवेदनशील राजनीतिक घडीमा अनुभव, जिम्मेवारी र परिपक्व निर्णय अत्यावश्यक छ । “यो समय देशमा देखा परेका राष्ट्रिय समस्याहरू समाधानमा केन्द्रीत हुने समय हो। यस्तो संवेदनशील घडीमा अनुभव, जिम्मेवार र परिपक्व निर्णय अत्यावश्यक हुन्छ।”
नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य समेत रहनु भएका डा. भण्डारीले कांग्रेस पार्टी भित्रको आन्तरिक द्वन्द्व बाहिर ल्याउँदा जनतामा निराशा र देशमा अन्यौलता बढ्ने चेतावनी समेत दिनुभयो ।
उहाँका शब्दमा, “कांग्रेसले आफू भित्रको द्वन्द्व बाहिर ल्याउँदा जनतामा निराशा र देशमा अन्यौलता बढाउँछ। कांग्रेस आफ्नो जिम्मेवारपूर्ण इतिहासको निरन्तरताबाट बाहिरिन मिल्दैन।” उहाँले पार्टीको आन्तरिक जीवन्तता र संगठनात्मक प्रक्रियाबारे पनि स्पष्ट दृष्टिकोण राख्दै भन्नुभयो - “कांग्रेसको सबैभन्दा शक्तिशाली निकायले बहुमतको हस्ताक्षर सहित महाधिवेशन गर्नुपर्ने प्रस्ताव पार्टीमा बुझाइसकेको छ ।
अधिवेशन नियमित प्रक्रिया हो, यो नै पार्टीको जीवन्तताको संकेत हो।” डा. भण्डारीका अनुसार, तत्कालीन सत्ता साझेदार एमालेले मंसिरमा महाधिवेशन गर्ने तयारी गरिरहेको बेला कांग्रेसले पनि राष्ट्रिय मुद्दाको नेतृत्वसँगै आफ्नो आन्तरिक प्रक्रिया अघि बढाउन सक्नुपर्ने समय आएको छ ।
उहाँले जोड दिनुभयो - “कांग्रेसले राष्ट्रिय मुद्दाको नेतृत्व गर्न अग्रसरता पनि नदेखाउने र आफ्नो अधिवेशन पनि नगर्ने भन्न मिल्दैन । बजारमा तर्क र विचार बिक्छ, तर ‘सकिँदैन’ भन्ने तर्क बिक्दैन।”