काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले पार्टी अहिले गम्भीर चौबाटोमा उभिएको भन्दै आगामी १५औं महाधिवेशन नै काँग्रेसलाई पुनः एकता, जिम्मेवारी र नैतिक दिशामा फर्काउने ऐतिहासिक अवसर भएको बताएका छन् ।
काँग्रेस केन्द्रीय समितिको जारी बैठकमा आफ्नो लिखित धारणा प्रस्तुत गर्दै उनले भने, “नेपालको राजनीतिक इतिहासमा काँग्रेस सधैं परिवर्तनको नेतृत्वमा रह्यो, तर अहिले भित्रैको असमञ्जस र निर्णयहीनताका कारण जनतामा निराशा बढ्दै गएको छ ।
अब १५औं महाधिवेशनमार्फत नै काँग्रेसको आत्मा र देशको भविष्य दुबैलाई नयाँ दिशा दिनुपर्छ।” डा. पोखरेलका अनुसार करिब २० दिनदेखि चलिरहेको केन्द्रीय समितिको बैठकले ठोस निष्कर्ष निकाल्न नसक्नु चिन्ताको विषय हो ।
उनका भनाइमा, “हामी देशभरका कार्यकर्ताको भरोसाको नजरमा छौं, तर नीति र सन्देश दुवैमा अस्पष्टता देखिनु नै अहिलेको मुख्य समस्या हो।” उनका अनुसार काँग्रेसमा ढिलाइ, असमञ्जस र गुटीय सोचका कारण जनतामा निराशा फैलिएको छ ।
उनले आगामी महाधिवेशनलाई पदका लागि प्रतिस्पर्धा होइन, लोकतान्त्रिक पुनर्जागरणको अवसरको रूपमा लिनुपर्ने सुझाव दिए । “महामन्त्री गगन थापाले उठाएको नियमित महाधिवेशनको प्रस्तावले सबैलाई एकै बिन्दुमा ल्याउने क्षमता राख्छ । काँग्रेसले नयाँ राजनीतिक परिस्थितिअनुसार आफूलाई पुनःपरिभाषित गर्नुपर्छ,” उनले स्पष्ट पारे । उनका अनुसार महाधिवेशनले आन्तरिक पारदर्शिता, युवा सहभागिता र वैचारिक अद्यावधिकता सुनिश्चित गर्न सके काँग्रेस फेरि जनताको केन्द्र बन्न सक्छ ।
नेता पोखरेलले हालैको जेन–जेड आन्दोलनले काँग्रेस र पुराना दलहरूलाई हल्लाएको मात्र होइन, चेत पनि दिलाएको बताए । उनका अनुसार, “यो आन्दोलन नभएको भए न आम निर्वाचनको चर्चा हुन्थ्यो, न काँग्रेसको महाधिवेशनबारे सोचिन्थ्यो । नयाँ पुस्ताको चेतनाले काँग्रेसलाई रूपान्तरणको आवश्यकता सम्झाएको छ।” उनका अनुसार महाधिवेशनले आम निर्वाचनलाई कमजोर पार्दैन, बरु उत्साह बढाउँछ ।
उनले भने, “१५औं महाधिवेशन आम निर्वाचनकै अभियान बन्न सक्छ । लाखौं लोकतान्त्रिक कार्यकर्ताको सहभागिताले निर्वाचनको वातावरण सिर्जना गर्छ।” डा. पोखरेलका अनुसार काँग्रेसको बल केवल संगठन होइन, नैतिक ऊर्जा र जनविश्वासमा निहित छ । उनले भने, “विपी कोइरालाले भनेझैँ राजनीतिमा नैतिकताको उपयुक्त संयोजन खोज्ने समय आएको छ ।
काँग्रेसको भविष्य महाधिवेशनमार्फत नै उज्यालो बन्न सक्छ।” उनले तराई–मधेसमा काँग्रेसको पकड कमजोर बन्दै गएको चेतावनी दिँदै भने, “संगठन बलियो हुँदाहुँदै पनि जनमतमा पछाडि पर्नु हाम्रो आत्ममूल्यांकनको समय हो।” उनका अनुसार संगठनात्मक संरचना मात्र पर्याप्त छैन, जनभावनासँग पुनःजोडिनु नै काँग्रेसको जीवन्तता हो ।
डा. पोखरेलले अहिलेको असन्तुष्टि केवल सरकारमा होइन, राजनीतिक प्रवृत्तिमा रहेको उल्लेख गर्दै भने, “नातावाद, कृपावाद र अवसरको असमानता अहिले काँग्रेसमै देखिएको छ ।
अब आत्मसमिक्षा गरेर जनतासँग माफी माग्न सक्नुपर्छ।” पार्टीको अस्तित्वमाथि प्रश्न उठाउँदै उनले भने, “अहिलेको काँग्रेस जनताको लागि हो कि केही नेताको लागि मात्र? बीपीले भनेको ‘काँग्रेस साधन हो, जनता लक्ष्य’ भन्ने विचार पुनः जीवन्त बनाउनुपर्ने बेला हो।” उनका अनुसार अब काँग्रेसले कोरा राजनीतिमा होइन, व्यवहारिक नीति, पारदर्शिता र सामाजिक न्यायमा आधारित नयाँ यात्रा सुरु गर्नुपर्छ ।
उनले संविधान संशोधनदेखि आर्थ–सामाजिक सुधारसम्मको स्पष्ट कार्ययोजना बनाएर काँग्रेसले जनताबाट पुनः अनुमोदन लिनुपर्ने आवश्यकता औंल्याए । अन्त्यमा उनले भने, “बीपीको विचारलाई आधुनिक परिवेशमा पुनर्जीवित गर्दै काँग्रेसले देशलाई स्थायी र समावेशी विकासको बाटोमा अघि बढाउने नेतृत्व लिनुपर्छ । १५औं महाधिवेशन नै त्यसको ऐतिहासिक सुरुवात बन्नुपर्छ।”
( डा. गोविन्दराज पोखरेलले नेपाली काँग्रेस केन्द्रीय समिति बैठकमा प्रस्तुत धारणामा आधारित)