काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन समूहका २४ केन्द्रीय सदस्यहरूले निर्वाचन अगाडि महाधिवेशन गर्नका लागि सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मालाई ध्यानाकर्षण गराउने भएका छन् ।
सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको १५ औँ महाधिवेशनको प्रक्रिया सुरु गर्नुपर्ने भन्दै केन्द्रीय कार्यालय सानेपामा ७ बुँदे ध्यानाकर्षण पत्र दर्ता गराएका उनीहरूको बुधबार ललितपुरको कुपण्डोलमा बसेको बैठकले निर्वाचन अगाडि नियमित महाधिवेशन गर्न वातावरण निर्माण गर्न आग्रह गर्ने निर्णय गरेको केन्द्रीय सदस्य आङगेलु शेर्पाले जानकारी दिए ।
साथै उनीहरूले आफूहरूले केन्द्रीय कार्यालयमा दर्ता गरेका ७ बुँदे माग पूरा गराउन भरमग्दुर प्रयास गर्ने निर्णय पनि गरेका छन् । अहिलेसम्मको राष्ट्रिय राजनीति र आफूहरूका ७ बुँदे मागको समीक्षा गर्न उनीहरू बैठक बसेका थिए ।
२४ केन्द्रीय सदस्यको मागमा पूर्वउपसभापति विजयकुमार गच्छदार र पूर्वमहामन्त्री डा.शशांक कोइरालाले पनि ऐक्यबद्धता जनाएका छन् ।
सभापति शेरबहादुर देउवा समूहबाट केन्द्रीय सदस्य जितेका राजेन्द्रकुमार केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डिला संग्रौला, उदयशम्शेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का, नारायणबहादुर कार्की र चीनकाजी श्रेष्ठ बैठकमा सहभागी रहेका शेर्पाले जानकारी दिए ।