काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा।चन्द्र भण्डारीले सिमरा घटनालाई राष्ट्रिय संकटको “कास्टिड मात्र” भन्दै पार्टीभित्र बढ्दै गएको चुनाव-केन्द्रित चासोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
पार्टीको आन्तरिक बैठकमा उठाएको विषयलाई सार्वजनिक गर्दै उनले वर्तमान परिस्थितिमा केवल “चुनाव, चुनाव” भन्दै उफ्रिनु निरर्थक भएको टिप्पणी गरे । उनका अनुसार देशले सामना गरिरहेको उद्विग्नता, अव्यवस्था र राजनीतिक अविश्वासको माहोल केवल छिटो चुनाव गराएर समाधान हुने खालको होइन ।
भण्डारीले हालको राजनीतिक तनाव, नेताहरूको थकान र जनतामा फैलिएको वैकल्पिक खोजीका कारण पुरानो शैलीको “भोटो फटालेको तर्क” अब काम नलाग्ने दाबी गरे । उनले पार्टीभित्र आन्तरिक संवाद, सहमति र आत्मसमिक्षाबाटै मुलुकको निकास खोजिनुपर्ने आवश्यकतामा जोड दिए ।
नेता भण्डारीले उर्जा र अनुभव दुबैको संगममार्फत मात्र मुलुकलाई वर्तमान जटिलताबाट निकाल्न सकिने बताउँदै सबै नेताहरूले व्यक्तिगत स्वार्थभन्दा राष्ट्रको स्थिरतालाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।
राजनीतिक अभिव्यक्तिमा संयमता, जिम्मेवारी र गम्भीरता आवश्यक रहेको उल्लेख गर्दै उनले शब्द चयनमै नेपालको राजनीति प्रभावित हुने चेतावनी दिए । सिमरा घटनालाई आफूले पहिल्यै केन्द्रीय समितिमा उठाएको जिकिर गर्दै भण्डारीले यसलाई अझ गम्भीर राजनीतिक परिवेशको संकेतका रूपमा व्याख्या गरे ।
हाल सिमरा विमानस्थल सुरक्षासम्बन्धी विवादले कांग्रेसभित्र विभिन्न प्रतिक्रिया आउन थालेका बेला भण्डारीको बयानले पार्टीमा पुनः व्यापक बहसको संकेत गरेको छ ।