काठमाण्डाै – प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा भएको छ ।
आज काठमाण्डाैमा एक कार्यक्रमबीच डा. बाबुराम भट्टराई संरक्षक रहेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारबीच एकतापछि बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा भएको हो ।
डा. भट्टराईले झण्डा उठाउँदै पार्टी घोषणा गर्नुभयो । उहाँ अभिभावकीय भूमिकामा रहने बताइएको छ । घोषणा सभालाई सम्बोधन गर्दै नेता जनार्दन शर्माले मौलिकतासहितको समाजवादी पार्टी बनाउने बताउनुभयो ।
यस्तै नेता परियारले विचार विधिको विकास गर्न नयाँ पार्टी घोषणा गरेको बताउनुभयो । प्रगतिशील अभियानका संयोजक सुदन किराँतीले बोलीलाई व्यवहारमा उतार्ने पार्टी बनाउने प्रतिबद्धता जनाउनुभयो । पार्टीकी संयोजक दुर्गा सोबले विगतका गल्ती सच्याएर अघि जाने बताउनुभयो ।
पार्टीको सामूहिक नेतृत्व युवा, महिलासहित समावेशी बनाउने विधान मस्यौदामा छ । पार्टीमा १ सय ५१ जना केन्द्रीय सदस्य रहनेछन् । पार्टीको चुनाव चिह्न आँखा रहनेछ । यो दल दुर्गा सोबको नाममा निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।