काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरूङले हाल व्यक्त गरेको गहन विचार र आत्मआलोचनात्मक विश्लेषणले पार्टीभित्र नयाँ उत्साह, ऊर्जा र सकारात्मक बहसको वातावरण बनाएको छ ।
उनले व्यक्त गरेका सन्देशहरू केवल भावनात्मक अभिव्यक्ति मात्र नभई कांग्रेसको दिगो स्थिरता, संगठनात्मक अनुशासन र आधुनिक राजनीतिक संस्कार निर्माणका लागि महत्वपूर्ण दिशानिर्देशको रूपमा हेरिएका छन् । गुरूङले पार्टीभित्र असल चरित्र, पारदर्शिता, सत्यनिष्ठा र सहकार्यको संस्कृति पुनर्स्थापित नगर्ने हो भने पार्टी कमजोर बन्दै जाने चेतावनी पनि दिए ।
उनले भनेका छन्, “Discipline is choosing between what you want now and what you want the most.” अनुशासन र दूरदृष्टि नै पार्टीलाई मजबुत बनाउने कुरामा उनले विशेष जोड दिएका छन् । पार्टीभित्र मतभेद र असन्तुष्टि लोकतान्त्रिक स्वभाव भए पनि यसले वैमनस्यता सिर्जना नगर्नुपर्ने उनको प्रष्ट धारणा छ ।
उनले भनेका छन् “जन्मेका कोख फरक भए पनि हामी सहयात्री र हितैषी हौं । गन्तव्य एउटै हो ।” गुरूङका अनुसार विचार भिन्नता लोकतन्त्रको शक्ति हो तर व्यक्तिगत द्वन्द्व र अनावश्यक तिक्तताले काँग्रेस कमजोर हुन्छ ।
पारदर्शिता र सत्यता काँग्रेस सदस्यको पहिचान भएको उल्लेख गर्दै उनले चेतावनी दिए - “साथीहरुलाई झुक्याउनु, ठग्नु वा ढोंगी व्यवहार गर्नु हुँदैन । बोली फेरिनु हुँदैन।” उनका शब्दले पार्टीभित्र ईमानदार र उत्तरदायी नेतृत्व र कार्यकर्ताको आवश्यकता पुनः स्पष्ट पारेको छ ।
नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष समेत रहेका गुरूङले अहिलेको परिस्थितिमा बाह्यभन्दा आन्तरिक चुनौती बढी रहेको उल्लेख गर्दै “स्वयं सम्हाल्ने र साथीहरुलाई सम्हाल्ने समय” आएको बताए ।
पार्टीभित्र निरन्तर बढ्दो अविश्वास, मनोविज्ञान र आन्तरिक क्षरणलाई रोक्ने उपाय भनेको एकता र सामूहिकता नै हो भन्ने उनको विश्वास छ । “Together we are stronger” भन्दै उनले गन्तव्य एउटै भएकाले काँग्रेसले एकता र सहकार्यको बाटोबाटै देश र लोकतन्त्रलाई सही दिशामा लैजान सक्ने बताएका छन् ।
नेतृत्वप्रतिको निष्ठा, संगठनात्मक शिष्टाचार र कार्यकर्तामाझको आपसी सम्मानलाई बलियो बनाउने उनले राखेको सुझावलाई विश्लेषकहरूले गुरूङको सकारात्मक राजनीतिक उचाइ बढाउने महत्वपूर्ण सन्देशको रूपमा व्याख्या गरेका छन् ।
नेता गुरूङले भने - “Your excuses will never build your dreams. Your biggest enemy is your uncontrolled mind.” आत्मअनुशासन, समर्पण, सत्यनिष्ठा र एकताको संयोजनले नै नेपाली कांग्रेसलाई पुनः जनतामाझ विश्वसनीय र प्रभावशाली शक्तिका रूपमा स्थापित गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।