काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षको भेलाले चुनावपछि मात्र महाधिवेशन गर्ने निर्णय गरेको छ ।
धुम्बाराहीस्थित स्मार्ट प्यालेसमा ९१ जना केन्द्रीय सदस्यको उपस्थिति तथा ऐक्यबद्धतामा चुनावपछि नियमित महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य किरण पौडेलले जानकारी दिए ।
“पार्टीले निर्वाचनमा भाग लिने निर्णय गरी निर्वाचन आयोगमा दल दर्ता भइसकेको छ । अब हामीलाई निर्वाचन आयोगको कार्यतालिका अनुरूप काम गर्न नै भ्याइनभ्याइ हुने अवस्था छ,” केन्द्रीय सदस्य किरण पौडेलले भने ।
उनले थपे, “हाम्रो विधानको धारा ३३ (१) मा उमेदवारबारे एक महिना अगावै निर्णय गर्नुपर्छ भन्ने व्यवस्था छ । पुस १३ मा बन्द सूची पेस गर्न मंसिर १३ मै निर्णय गर्नुपर्ने हुन्छ । हामीले त्यही काम भ्याउने अवस्था छैन ।”
उनले वडा हुँदै निर्वाचन क्षेत्र र जिल्लाबाट केन्द्रमा आएपछि संसदीय समितिले उमेदवारको टुंगो लगाउनुपर्ने बताए । त्यसबाहेक निर्वाचन तालिकाका अन्य काम पनि ढिला भइसकेको उनको भनाइ छ ।
“हामी बैठकको सुरुवातमै निर्वाचनमा भाग लिएर संविधानलाई ट्रयाकमा ल्याउनुपर्छ भन्नेमा एकमत थियौँ । तर, चुनावअघि कि चुनावपछि महाधिवेशन गर्ने भन्ने विवादले निर्णय गर्न ढिला गर्यौँ ।”
पौडेलले थपे, “हामीले निर्वाचनमा जाने निर्णय गरेकाले अब तल्ला निकायहरूलाई उमेदवार सिफारिससहितका काम गर्न परिपत्रका लागि ढिला हुँदै छ । अब ढिला गर्यौँ भने निर्वाचन आयोगले कुर्ने अवस्था हुँदैन । सिंगो पार्टी निर्वाचनमा होमिनुपर्ने आवश्यकता छ ।”
विशेष महाधिवेशनका लागि दर्ता भएको प्रस्तावका विषयमा भने भेलामा कुनै छलफल नभएको उनले बताए । पौडेलले केन्द्रीय समितिमा विशेष महाधिवेशनको मुद्दा नै नरहेकाले त्यसबारे कुरा नउठेको स्पष्ट पारे ।
“यो भेला केन्द्रीय समितिबाट के निर्णय गर्ने र निर्वाचनमा कसरी भाग लिने भन्नेमै केन्द्रित भयो,” पौडेलले भने, “विशेष महाधिवेशनको एजेन्डा केन्द्रीय समितिमा नरहेकाले त्यसबारे कुनै छलफल भएन ।”
नेपाली कांग्रेसको विधानको दफा १७(२) मा केन्द्रीय समितिले चाहेमा वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखितरूपमा माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । झन्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको प्रस्ताव असोज २९ गते नै दर्ता भए पनि केन्द्रीय समितिको एजेन्डा बनाइएको छैन ।