काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरूङले हाल देशभर फैलिएको विशेष महाधिवेशन मंसिरमा नै हुन्छ भन्ने चर्चालाई आधारहीन र राजनीतिक भ्रम भएको बताएका छन् ।
साथीहरूबाट लगातार आउने प्रश्नपछि उनले पार्टीको आधिकारिक अवस्था, विधान व्यवस्था र वर्तमान राजनीतिक प्राथमिकताका आधारमा अहिले विशेष महाधिवेशन सम्भावना अत्यन्त न्यून रहेको स्पष्ट पारेका हुन् ।
गुरूङका अनुसार पार्टीभित्र विशेष महाधिवेशनको प्रक्रिया कुनै पनि तहमा अगाडि बढेको छैन । पहिलो, विशेष वा नियमित महाधिवेशन सम्बन्धी प्रस्ताव अहिलेसम्म केन्द्रीय कार्यसमितिमा आधिकारिक रूपमा प्रस्तुत नै भएको छैन ।
दोस्रो, विधानको धारा १७(२) ले विशेष महाधिवेशनको आधार उल्लेख गरे पनि यसको नियमावली र कार्यविधि अझै तयार भइसकेको छैन । तेस्रो, प्रतिनिधिहरूले गरेको हस्ताक्षरको सनाखत र प्रमाणीकरणसमेत सम्पन्न भइसकेको छैन ।
यति मात्र होइन, गुरूङले थप स्पष्ट पारे— विधानको धारा १७(२) ले पार्टी सभापति वा पदाधिकारी हटाउने व्यवस्था नै प्रदान गरेको छैन । पार्टीको शीर्ष नेतृत्वमाथि अविश्वास प्रस्ताव ल्याउन चाहिने प्रक्रिया विधानको धारा ४४ मा मात्र उल्लेख छ। त्यसैले विशेष महाधिवेशनमार्फत सभापति हटाउने चर्चा पूर्णतः भ्रम भएको उनको भनाइ छ ।
‘अब के हुन्छ?’ भन्ने प्रश्नमा उनले उत्तर दिए- पार्टीले २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने निर्णय गरिसकेको छ, र यही अब पार्टीको प्रमुख प्राथमिकता हो। कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनका लागि आवश्यक संगठनात्मक, राजनीतिक र कूटनीतिक तयारी तत्काल पूरा गर्नुपर्ने उनले बताए ।
गुरूङले पार्टी एकता, संगठनात्मक स्थिरता र चुनावी तयारीलाई नेपालको वर्तमान राजनीतिक परिदृश्यमा अत्यन्त महत्वपूर्ण भन्दै भने, “विशेष महाधिवेशन अहिले सम्भव छैन, तीन त परको कुरा एकपटक पनि हुन्न। पार्टी निर्वाचनमा सभापतिज्यूकै हस्ताक्षरमा निर्धक्क सहभागी हुन्छ।” आफू भ्रममा नपर्न सबै सदस्य र कार्यकर्तालाई आग्रह गर्दै उनले जोड दिए- “कुरो सुस्पष्ट छ। पार्टी एकता नै अहिलेको आवश्यकता हो, हल्ला होइन।”