कैलाली – गृहमन्त्री ओमप्रकाश अर्यालले केही थान हतियार र फरार कैदीबन्दी बाहिरै रहेको अवस्थामा चुनाव हुन्न कि भन्ने शंका र भ्रम नछर्न आग्रह गर्नुभएको छ ।
उहाँले नवयुवाको आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी र लुटिएका हतियारकै कारण तोकिएको फागुन २१ को चुनाव नबिथोलिने दाबी समेत गर्नुभयो ।
सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज कैलालीको धनगढीमा सम्बोधन गर्दै गृहमन्त्री अर्यालले फरार कैदीबन्दी पक्राउ गर्ने र लुटिएका हतियार खोज्ने क्रम निरन्तर भैरहेको बताउनुभयो । उहाँले निर्बाध रुपमा चुनावी गतिविधि गर्न पाउने वातावरण बनाउन लागिपरेको समेत बताउनुभएको छ ।
अझै ४ हजार ५ सय ५२ कैदीबन्दी फरार रहेका पनि गृहमन्त्री अर्यालले जानकारी गराउनुभयो ।