Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

उद्घाटनसत्रमा ओलीको सम्बोधनः संसद पुनर्स्थापना गरेरै छाड्ने संकल्प (पूर्णपाठ)


२७, मंसिर २०८२
  • 85
    SHARES
  • उद्घाटनसत्रमा ओलीको सम्बोधनः संसद पुनर्स्थापना गरेरै छाड्ने संकल्प (पूर्णपाठ)

    भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न र देशलाई पुनः संविधानको लिकमा फर्काउन विघटित प्रतिनिधिसभाको पुनःस्थापना अपरिहार्य रहेको बताएका छन्।

     

    शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले असंवैधानिक तवरले विघटन गरिएको संसद् ब्युँताएरै छाड्ने संकल्प गरेका हुन्।

    ओलीले मुलुक अहिले गम्भीर संवैधानिक संकटमा फसेको दाबी गरे। उनले भने, 'अहिले तत्कालका लागि अनधिकृत र असंवैधानिक सिफारिसमा विघटित प्रतिनिधिसभाको पुनःस्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेशबाट नयाँ प्रतिनिधिसभा निर्माण गर्ने बाटोमा हामी अगाडि बढ्नुपर्छ।' ओलीले वर्तमान सरकारले जालझेल र प्रतिशोधको बाटो लिएको आरोप लगाउँदै संविधान र लोकतन्त्रको रक्षाका लागि एमाले निर्णायक शक्तिका रूपमा उभिने उद्घोष गरे।

    देशलाई खरानी पार्ने योजना तुहाउन राजीनामा दिएँ
    आफ्नो सम्बोधनका क्रममा अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा विकसित भएका पछिल्ला घटनाक्रमहरूको समीक्षा गरे। विशेषतः भदौ २३ र २४ गतेका हिंसात्मक घटनाहरूलाई स्मरण गर्दै उनले देशलाई गृहयुद्ध र रक्तपातबाट बचाउन आफूले पद त्याग गरेको दाबी गरे ।

    'त्यो उपद्रवको लक्ष्य सरकार परिवर्तन मात्रै थिएन, त्यसभित्र राज्यको मेरुदण्ड नै भाँच्ने योजना लुकेको थियो,' ओलीले भने, 'संसद्‍बाटै सरकार फेर्न सकिन्थ्यो वा अर्को निर्वाचन कुर्न सकिन्थ्यो। तर, लोकतन्त्रलाई ध्वस्त पारेर शून्यता सिर्जना गर्ने र राज्यविहीनताको अवस्थामा पुर्‍याउने षड्यन्त्र भएपछि थप क्षति नहोस् भनेर मैले राजीनामा दिएँ।'

    उनले राज्यका तीनवटै अंग (कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका) माथि एकसाथ आक्रमण भएको, प्रहरी र सुरक्षाकर्मीको हत्या गरिएको तथा भौतिक संरचनाहरू जलाइएको घटनाले देशमा महाविनाश निम्त्याउन खोजिएको जिकिर गरे।

    चुनावको नाटक मात्रै

    वर्तमान सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचनलाई ओलीले 'नाटक' को संज्ञा दिए। उनले सरकारले चुनावको मिति तोके पनि त्यसको कुनै तयारी नगरेको र देशमा भय तथा त्रासको वातावरण सिर्जना गरेको आरोप लगाए।

    'चुनावको कुरा मात्र भइरहेको छ, तर कहाँ चुनाव हुँदैछ र ?' प्रश्न गर्दै ओलीले भने, 'संवादको सट्टा निषेध, बहसको सट्टा मुद्दा र प्रतिस्पर्धाको सट्टा धम्की दिने सरकारले निष्पक्ष चुनाव गराउन सक्दैन। त्यसैले हाम्रो अडान स्पष्ट छ– प्रतिनिधिसभा तुरुन्त पुनःस्थापना होस्, देश संविधान र लोकतन्त्रको बाटोमै फर्कियोस्।'

    युवा पुस्तालाई विशेष अपिल
    सम्बोधनको ठूलो हिस्सा अध्यक्ष ओलीले नयाँ पुस्ता अर्थात् 'जेनजी' लाई आश्वस्त पार्न खर्चिए। पछिल्लो समय एमाले र पुराना दलहरूलाई जेनजी विरोधी भन्दै भाष्य निर्माण गर्न खोजिएकोप्रति उनले असन्तुष्टि व्यक्त गरे।

    'जुन पार्टीले सरकारमा हुँदा डिजिटल नेपाल फ्रेमवर्क बनायो, स्टार्टअप कार्यक्रम ल्यायो र युवालाई उद्यमी बनाउने नीति लियो, त्यो पार्टी कसरी नयाँ पुस्ता विरोधी हुन्छ ?' ओलीले प्रश्न गरे। उनले एमाले प्रविधिमैत्री र भविष्यमुखी पार्टी रहेको भन्दै युवाहरूको जायज गुनासा र आक्रोसलाई हिंसा र विध्वंसको इन्धन नबनाउन आग्रह गरे। उनले भने, 'तपाईंहरूको सुरक्षित भोलि– लोकतन्त्र, संविधान र शान्तिमा मात्रै सम्भव छ। भावनामा बगेर देश जलाउनेहरूको मतियार नबन्नुहोस्।'

    एकताको सन्देश: 'एक र एक एघार'
    एमालेको ७७ वर्षे इतिहास र बलिदानको चर्चा गर्दै ओलीले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्ने दृढता व्यक्त गरे। महाधिवेशनको सन्दर्भ जोड्दै उनले पार्टीभित्रको एकतालाई 'एक र एक जोडेर दुई होइन, एघार बन्ने' उपमा दिए।

    'हामी प्रत्येक एक एमालेले अर्को एक एमालेसँग हात मिलाउँदा बलियो शक्ति बन्छौँ,' कार्यकर्ताहरूलाई निर्देशित गर्दै उनले भने, 'फुटेर होइन, जुटेर मात्रै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सकिन्छ।'

    अध्यक्ष ओलीले लोकतन्त्रमाथिको प्रहार र संविधानमाथिको आघातलाई परास्त गर्न सम्पूर्ण एमाले पंक्तिलाई उच्च मनोबलका साथ गाउँ–गाउँमा खटिन निर्देशन समेत दिए। उनले एमालेका कार्यक्रम बिथोल्न खोज्ने र निषेधको राजनीति गर्नेहरूलाई जनताको बलमा जवाफ दिने चेतावनी समेत दिए। 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend