काठमाडाँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्राध्यापक मानबहादुर विश्वकर्माले कुनै पनि लाभको पद नलिने सार्वजनिक घोषणा गर्दै पार्टीभित्र नेतृत्व पुस्तान्तरण र राजनीतिक रूपान्तरणको स्पष्ट सन्देश दिनुभएको छ ।
आगामी फागुन २१ गते हुने संघीय निर्वाचनअन्तर्गत प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा कुनै पनि पदमा उम्मेदवार नबन्ने उहाँको निर्णयलाई जेन-जी आन्दोलनले उठाएको नयाँ नेतृत्वको मागप्रति सम्मानका रूपमा हेरिएको छ ।
“अब राजनीतिक अवसर युवा पुस्ताले लिनुपर्छ,” भन्ने सन्देशसहित उहाँले संगठन सुदृढीकरण, नीति-बहस र भावी नेतृत्वको तयारीलाई आफ्नो प्राथमिकता रहने बताउनुभएको छ । अर्घाखाँचीमा उम्मेदवार सिफारिस प्रक्रिया चलिरहेकै बेला जिल्ला कार्यसमितिको बैठकमा नेता विश्वकर्माले स्पष्ट धारणा राख्दै भन्नुभयो, “मलाई कुनै पनि लाभको पदमा सिफारिस नगर्नुहोस् ।
जिल्लाबाट नयाँ, योग्य र समर्पित उम्मेदवारलाई अघि सार्नुहोस् । पार्टीका उम्मेदवारलाई जिताउन मेरो तर्फबाट पूर्ण सहयोग रहनेछन।” प्रभाव र हैसियत हुँदाहुँदै स्वेच्छाले उम्मेदवारी त्याग्ने यो निर्णयलाई कार्यकर्ता र नेताहरूले पद-केन्द्रित राजनीतिक संस्कृतिभन्दा माथि उठेको, आदर्श र सिद्धान्तमा आधारित अभ्यासका रूपमा लिएका छन् ।
दुई दशकभन्दा बढी समय केन्द्रीय राजनीतिमा सक्रिय नेता विश्वकर्मा २०६३ मा वातावरण, विज्ञान तथा प्रविधि राज्यमन्त्री, २०६४ मा संविधानसभा उम्मेदवार, २०७० मा संविधानसभा सदस्य र २०७४ मा प्रतिनिधिसभामा समानुपातिक सदस्यका रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो । पार्टीको ११औँ महाधिवेशनदेखि तीन कार्यकाल निर्वाचित केन्द्रीय सदस्य र १४औँ महाधिवेशनमा मनोनित केन्द्रीय सदस्य रहँदै उहाँले संगठन, प्रशिक्षण र नीति निर्माणमा दीर्घकालीन योगदान पुर्याउनुभएको छ ।
गिरिजाप्रसाद कोइराला सभापति हुँदा केन्द्रीय प्रशिक्षण विभाग प्रमुखका रूपमा उहाँले काडर प्रशिक्षण र नीति-कार्यशालामा उल्लेखनीय काम गर्नुभयो । नेपाल दलित संघका संस्थापक सभापति समेत रहनुभएका विश्वकर्माले दलित अधिकार, सामाजिक न्याय र समावेशी लोकतन्त्रका मुद्दामा सडकदेखि सदनसम्म निरन्तर आवाज उठाउँदै आउनुभएको छ ।
पदमा नरहे पनि प्रशिक्षण, नीति-बहस, संगठन निर्माण तथा दलित, उत्पीडित र सीमान्तकृत समुदायको आवाज बुलन्द गर्न अग्रपंक्तिमै रहने उहाँको प्रतिबद्धता छ । उम्मेदवार बन्ने होड बढिरहेका बेला वरिष्ठ नेताले आफैं सरेर नयाँ पुस्ताका लागि ठाउँ खोलिदिनु ‘सत्ता भन्दा संस्था’ र ‘पद भन्दा सिद्धान्त’ रोज्ने उदाहरणका रूपमा लिइएको छ ।
कांग्रेसको नयाँ पुस्तालाई अग्रपंक्तिमा ल्याउने रणनीतिसँग मेल खाने यो निर्णयले संगठनभित्र सकारात्मक ऊर्जा सञ्चार गरेको छ । प्रा. विश्वकर्माको कदम कांग्रेसभित्र मात्र नभई समग्र लोकतान्त्रिक राजनीतिक संस्कृतिका लागि पनि प्रेरणादायी बन्ने विश्वास व्यक्त गरिएको छ ।