काठमाडौं । आम जनता पार्टी (आजपा) ले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फ ११० जनाको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।
बन्दसूचीमा जेनजी आन्दोलनकारी, जेनजी शहिद परिवार, सहकारी तथा लघुवित्त पीडित, महिला, अल्पसंख्यक र समाजसेवीलाई प्राथमिकतासाथ समेटिएको छ ।
चर्चित मोडेल, मिडिया उद्यमी तथा समाजसेवी एलिजा गौतम खस–आर्य महिलातर्फ पहिलो नम्बरमा परेकी छन् ।
साथै, उनलाई पार्टी उपाध्यक्षको जिम्मेवारी दिइँदै संगठन सुदृढीकरण र जनआधारित राजनीतितर्फ आजपाले स्पष्ट सन्देश दिएको छ ।
बन्दसूचीमा जेनजी शहिद श्रेयम चौलागाईका बुवा गणेश चौलागाई, घाइते सञ्जिव सापकोटा, सहकारी–लघुवित्त पीडित, मुस्लिम समुदाय तथा लैङ्गिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरू पनि समेटिएका छन् ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखिएको एलिजा गौतमको ९ बुँदे एजेन्डाले आजपालाई भरोसायोग्य वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ ।