काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन कुनै हालतमा नरोकिने स्पष्ट पारेका छन् । निर्वाचन प्रक्रिया पूर्ण रूपमा अघि बढिसकेको उल्लेख गर्दै उनले प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै आधार नरहेको बताएका हुन् ।
शनिबार संखुवासभाको खाँदबारीमा प्रेस सेन्टर नेपालद्वारा आयोजित भेटघाट कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले अब मुलुक निर्वाचनतर्फ निर्णायक चरणमा प्रवेश गरिसकेको बताए । उनले भने, “निर्वाचनको सम्पूर्ण प्रक्रिया अघि बढिसकेको छ । अब चुनाव रोकिने कुनै आधार छैन ।”
संयोजक प्रचण्डले सरकारले तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउने विश्वास व्यक्त गर्दै निर्वाचन नै वर्तमान राजनीतिक समस्याको एकमात्र लोकतान्त्रिक निकास भएको बताए । विगतका अन्योल र बहसहरू अब समाप्त भइसकेको उल्लेख गर्दै उनले देशलाई स्थायित्वतर्फ लैजान जनताको मत निर्णायक हुने बताए ।
निर्वाचनपछिको राजनीतिक कार्यदिशाबारे बोल्दै प्रचण्डले संविधान संशोधनको विषयलाई पनि प्राथमिकतामा राखिने स्पष्ट गरे । उनले पहिचानका सवाल, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, वर्तमान निर्वाचन प्रणालीलगायत विषयमा निर्वाचनपछि प्राप्त जनमतका आधारमा आवश्यक संशोधन गरिने बताए ।
“निर्वाचनपछि जनताबाट प्राप्त जनादेशका आधारमा संविधानलाई अझ परिष्कृत, समावेशी र व्यावहारिक बनाइनेछ,” उनले भने । संयोजक प्रचण्डको अभिव्यक्तिले प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी बहसलाई अन्त्य गर्दै अबको राजनीतिक बहस निर्वाचन केन्द्रित हुने संकेत गरेको छ ।