काठमाडौँ । नेपाल प्रजातन्त्र सेनानी संघले वर्तमान राजनीतिक परिस्थितिलाई गम्भीरतापूर्वक आत्मसाथ गर्दै नेपाली कांग्रेसभित्र एकता, मेलमिलाप र मध्य मार्गको राजनीति अवलम्बन गर्न जोडदार माग गरेको छ । संघले पार्टी नेतृत्वको ध्यानाकर्षण गराउँदै पछिल्लो राजनीतिक घटनाक्रमको समाधान तत्काल खोज्न आग्रह गरेको हो ।
संघका अध्यक्ष बालकृष्ण दाहाल र महामन्त्री गोपाल गिरीद्वारा जारी ध्यानाकर्षण पत्रमा नेपाली कांग्रेस स्थापना कालदेखि नै क्रान्तिकारी र मध्य मार्गको राजनीतिक बाटो अवलम्बन गर्दै सफल भएको इतिहास स्मरण गराइएको छ । जेन्जी आन्दोलनपछिको वर्तमान विषम परिस्थितिमा पनि सोही मार्ग अवलम्बन गर्दै पार्टीभित्रको एकतालाई मजबुत बनाउन संघले आग्रह गरेको छ ।
ध्यानाकर्षण पत्रमा आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगरी देशभरका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनुपर्ने स्पष्ट माग गरिएको छ। यसले कांग्रेसको आत्मनिर्भर राजनीतिक पहिचानलाई बलियो बनाउने विश्वास संघले व्यक्त गरेको छ । त्यसैगरी वर्तमान अवस्थामा पार्टीभित्र देखिएको ध्रुवीकरणप्रति चिन्ता व्यक्त गर्दै कांग्रेसका शीर्ष नेतृत्व एकढिक्का भई आपसी एकता र मेलमिलापको बाटो अवलम्बन गर्न अपरिहार्य रहेको उल्लेख गरिएको छ ।
संघले प्रतिनिधिसभा प्रत्यक्ष तथा समानुपातिक निर्वाचन र राष्ट्रियसभा निर्वाचनमा पार्टी निर्माणमा समर्पित प्रजातन्त्र सेनानी, लामो समय योगदान दिएका तर अवसरबाट वञ्चित कार्यकर्ता, विभिन्न आन्दोलनमा जेल–नेल भोगेका, अंगभंग भएका तथा सहिद परिवारलाई यथोचित अवसर प्रदान गर्नसमेत माग गरेको छ । यसैबीच, नेपाल प्रजातन्त्र सेनानी संघले उक्त ध्यानाकर्षण पत्र नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई सोमबार बुझाएको छ । भेटका क्रममा महामन्त्री विश्वप्रकाशले पार्टी विधान, नीति र नियमअनुसार नै नेपाली कांग्रेस अघि बढ्ने बताउँदै यही पुस २७–२८ गते बस्ने महासमितिको बैठकका निर्णयअनुसार पार्टीको आगामी दिशा तय हुने स्पष्ट पारेका छन् ।