काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको बहस तीव्र भइरहँदा त्यसका पक्षधरहरूले तयारीलाई औपचारिक रूपमै तीव्र पारेका छन् । विशेष महाधिवेशनलाई लक्षित गर्दै करिब ३ हजारभन्दा बढी झोला छापेर तयार पारिएको छ, जुन महाधिवेशन प्रतिनिधिहरूलाई वितरण गरिने बताइएको छ ।
व्यवस्थापन पक्षका नेता लेखनाथ पोखरेलसँग कुराकानिमा विशेष महाधिवेशनको तयारी तीव्र गतिमा अघि बढिरहेको बताए । उनका अनुसार हल बुकिङ, क्याटरिङ, आवास तथा अन्य व्यवस्थापनसम्बन्धी तयारीहरू लगभग पूरा भइसकेका छन् । “विशेष महाधिवेशनका लागि आवश्यक सबै तयारीहरू तीव्रताका साथ भइरहेको छ।
हल बुकिङ र क्याटरिङको काम सकिएको छ, झण्डै ३ हजार झोला पनि छापी सक्यौँ,” उनले भने । तर पार्टी नेतृत्व तहमा भने विशेष महाधिवेशनको वैधानिकता र आवश्यकताबारे मतभेद कायमै छ । एकातर्फ महाधिवेशन प्रतिनिधिको उल्लेख्य माग पुगेको दाबी गरिँदै आएको छ भने अर्कोतर्फ संस्थापन पक्षले समय र प्रक्रिया उपयुक्त नभएको तर्क अघि सार्दै आएको छ ।
यसबीच, विशेष महाधिवेशन पक्षधरको तयारीले कांग्रेसभित्रको आन्तरिक राजनीति थप रोचक र दबाबपूर्ण मोडमा पुगेको देखिन्छ। अब प्रश्न उस्तै छ— कांग्रेसको विशेष महाधिवेशन वास्तवमै हुन्छ कि हुँदैन ?