काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि ८ जना उम्मेदवारको नाम टुंगो लगाएको छ । १८ सदस्यका लागि हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा एमालेले विभिन्न प्रदेशबाट उम्मेदवार चयन गरेको हो ।
पार्टीका अनुसार कोशी प्रदेशबाट रोशनी मेचे र सोम पोर्तेल उम्मेदवार बनेका छन् । मधेश प्रदेशबाट रेखा झा, बागमती प्रदेशबाट प्रेम दंगाल तथा गण्डकी प्रदेशबाट सम्झना देवकोटालाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरिएको छ ।
यस्तै, लुम्बिनी प्रदेशबाट पूर्व मन्त्री रामकुमारी झाँक्री, कर्णाली प्रदेशबाट मीना रखाल र सुदूरपश्चिम प्रदेशबाट लिला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ । एमालेले समावेशी प्रतिनिधित्व र प्रदेशगत सन्तुलनलाई ध्यानमा राख्दै उम्मेदवार छनोट गरिएको जनाएको छ ।