काठमाडौं । विश्वकप टी-२० अन्तरगतका आफ्ना खेलहरु भारतबाहिर सार्न बंगलादेशले गरेको अनुरोधलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले अस्वीकार गरेको छ । मङ्गलबार भएको भर्चुअल वार्तामा आइसीसीले बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले राखेको प्रस्ताव आइसीसीले खारेज गरिदिएको हो । क्रिकइन्फोका अनुसार सुरक्षा चिन्ताका कारण बङ्गलादेशका खेलहरू भारतबाहिर खेलाउन नसकिने आइसीसीको तर्क छ । आइसीसीले बिसिबीलाई बङ्गलादेशले टी-२० विश्वकप खेल्न भारतमा टीम नपठाएमा अंक गुमाउने चेतावनीसमेत दिएको छ ।
बिसीबीले भने नियामक निकायबाट यस्तो कुनै अल्टिमेटम नआएको दाबी गरेको छ । बीसीसीआई वा बिसिबी दुवैले मङ्गलबारको वार्ताबारे नतिजाबारे कुनै आधिकारिक विज्ञप्ति जारी गरेका छैनन् । यो वार्ता बिसिबीले भारतबाहिर बङ्गलादेशका खेलहरू सार्ने प्रस्तावसहितको पत्र पठाएपछि आइसीसीले आयोजना गरेको थियो ।
बंगलादेशले खेलेन भने नेपालका प्रतिस्पर्धीहरुमा ईंग्ल्यान्ड, इटली र वेस्ट इन्डिज रहनेछन् । यीमध्ये इटली नेपालभन्दा कमजोर मानिन्छ । इटलीलाई हराएर वेस्ट इन्डिजविरुद्ध ‘सरप्राइज जित’ निकाल्न सकेमा नेपाल सुपर ८ मा जाने ढोका खुल्न सक्छ । बंगलादेश खेलेको खण्डमा भने पेचिलो प्रतिस्पर्धा हुनेछ ।
बीसीसीआईले बङ्गलादेशी फास्ट बलर मुस्तफिजुर रहमानलाई रिलिज गर्न कोलकाता नाइट राइडर्सलाई निर्देशन दिएपछि बंगलादेश असन्तुष्ट छ । फ्रेन्चाइजीले डिसेम्बरको आईपीएल लिलामीमा मुस्तफिजुरलाई ९.२ करोड भारतीय रुपैयाँमा किनेको थियो । बीसीसीआईको यो निर्णयबारे सचिव देवजित सैकियाले मिडियालाई जानकारी दिएका थिए । तर सैकियाले मुस्तफिजुरलाई रिलिज गर्न भनिएको कारण भने उल्लेख गरेनन् ।
मुस्तफिजुर २०२६ को लिलामीमा विकेका एकमात्र बङ्गलादेशी खेलाडी थिए। बुझिएअनुसार आईपीएल गभर्निङ काउन्सिलले यो स्थितिबारे छलफल गर्न बैठक नै राखेको थिएन । त्यसैले सैकिया बाहेक मुस्तफिजुरको निर्णयमा को-को संलग्न थिए भन्ने प्रश्नहरू बाँकी छन् ।