काठमाडौँ । नेपाली कांग्रेस पार्टीको दोस्रो विशेष महाधिवेशनको माग गर्दै आएको पक्षले केन्द्रीय कार्यालयले प्रतिनिधिहरूलाई काठमाडौँ नआउन जारी गरेको निर्देशनलाई ‘एकमुष्ट रूपमा खारेज’ गर्ने घोषणा गरेको छ । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टी नेतृत्वको पछिल्लो कदमप्रति कडा आपत्ति जनाए । उनले विधानसम्मत माग उठाउँदा समेत कार्यकर्तामाथि दबाब र रोकतोक लगाइनु पार्टीको लोकतान्त्रिक चरित्रविपरीत भएको बताए ।
“विगतमा निरङ्कुश राजाको आदेशसम्म नमानेका कांग्रेसका कार्यकर्ताले आज विधानको पालना माग्दा जारी गरिएको यस्तो ‘फरमान’ स्वीकार गर्दैनन्,” शिवाकोटीले भने, “मुख्यसचिवमार्फत जारी गरिएको आदेशले विशेष महाधिवेशनको औचित्य सकियो भन्नु हास्यास्पद छ । हामी यसलाई यहीँबाट खारेज गर्छौँ ।”
विशेष महाधिवेशन पक्षधरहरूले सदस्य तथा कार्यकर्ताको बढ्दो सक्रियताबाट संस्थापन पक्ष आत्तिएको दाबी गरेका छन् । उनीहरूको भनाइमा, विशेष महाधिवेशनको दबाब बढ्दै गएपछि कार्यकर्तालाई तर्साउने उद्देश्यले पटक-पटक विज्ञप्ति र निर्देशन जारी गरिएको हो ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीले आजै बोलाइएको कार्यसम्पादन समितिको बैठकलाई पनि यही रणनीतिको निरन्तरता भएको टिप्पणी गरे । केन्द्रीय कार्यालयको निर्देशनका बाबजुद विशेष महाधिवेशनको तयारीबाट पछि नहट्ने स्पष्ट अडान उनीहरूले दोहोर्याएका छन् । यस घटनाक्रमसँगै नेपाली कांग्रेसभित्र संस्थापन र असन्तुष्ट पक्षबीचको दूरी अझै गहिरिँदै गएको देखिएको छ, जसले पार्टीको आन्तरिक राजनीतिलाई थप तातो बनाएको छ ।